बागलुङ, ६ चैत । काठेखोला गाउँपालिकामा संचालित तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिमको समापन सत्रमा बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीले सहकारीको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले सहकारीकर्मीहरुलाई सहकारीका सञ्चालकहरुलाई जिम्मेबार र जवाफदेही बन्न सुझाव दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीले समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका कमजोरी सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराको आयोजना तथा काठेखोला गाउँपालिका र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा संचालित तालिममा सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृतहरु चोलाकान्त वाग्ले र इश्वरी ढकाल, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकारहरु राम बहादुर जि.सी र तेजेन्द्र थापा मगरले सहजीकरण गर्नु भएको थियो ।
काठेखोला र बागलुङ नगरपालिका अन्तरगतका विभिन्न सहकारी संघ संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको तालिममा सहकारीमा लेखा व्यवस्थापन, ऋण व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु), गाजा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्य प्रसाद कंडेल र रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले समापन समारोहमा मन्तव्य राख्नुभएको थियो ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराका शाखा अधिकृत इश्वरी ढकालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन काठेखोला गाउँपालिका सहकारी शाखाका प्रमुख प्रकाश पौडेलले गर्नुभएको थियो ।










