बागलुङ, १ कात्तिक । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले निगरानी तथा गस्तीलाई तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती तथा पिकेट ड्युटी सञ्चालन गरेको छ। बजार क्षेत्रमा हुन सक्ने चोरी, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार चाडपर्व सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट ४३३ जना प्रहरी परिचालन गरिएको बताउनुभयो।
उहाँका अनुसार बागलुङ बजारमा ५१, गलकोटमा ४४ र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा १२ वटा सिसीटिभी क्यामरामार्फत निगरानी गरिनेछ ।
चाडपर्वको समयमा घर छाडेर आफन्तकहाँ जाने तथा लामो दूरीको यात्रा गर्ने नागरिकको सङ्ख्या बढ्ने भएकाले यात्रुको सुरक्षालाई समेत प्राथमिकता दिइएको छ। यात्रुको सहजताका लागि मालढुङ्गा, बागलुङ बजार, हटिया र बुर्तिबाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले नागरिकलाई भीडभाड भएका स्थानमा आफ्नो नगद तथा बहुमूल्य सामग्रीको सुरक्षा गर्न, घर छाड्नुअघि झ्यालढोका राम्रोसँग बन्द गर्न तथा अनलाइन कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।








