बागलुङ, ५ फागुन । सडक मर्मत नहुँदा जोखिम बढेकोले तत्काल मर्मत गर्न माग गर्दै बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका स्थानीयहरुले नगरप्रमुख र वडाअध्यक्षलाई ध्यानाकर्षण गराएका छन् ।
आईतबार बागलुङ नगरपालिकाको कार्यालयमा पुगेका तित्याङका स्थानीयहरुले नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र वडाअध्यक्ष राजु थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
तित्याङको हेल्थपोष्ट अड्डाँडा, खानीगाउँ हुँदै डोयसम्म जाने सडकको (खोलाटे) खण्ड र भुजाकाटे, गामा, अड्डाँडा हुँदै टिमुरबोट जाने बाटो (उतिस्ने गैरो) खण्डको सडक र अन्य क्षेत्रमा पनि बाटो अतिनै गम्भिर र जटिल बनेको तथा यात्रा गर्न गाह्रो अवस्था सिर्जना भएको भन्दै स्थानीयहरुले जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराएका हुन् ।
सडक मर्मतको लागि दबाब सिर्जना गर्न गतमाघ १२ गते तित्याङका कुवापानी, फुल्पाती, गामा, अड्डाँडा, खानीगाउँ, डोय, टिमुरबोटका १ सय ९० घरधुरीको आमभेलाले सन्देश जि.सीको अध्यक्षतामा २४ सदस्य सहक उपभोक्ता समिति गठन गरेको थियो । उक्त समितिको माघ २३ गते बसेको बैठकले ध्यानकर्षण गराउने निर्णय गरेको र सोही निर्णय बमोजिम आईतबार नगरप्रमुख श्रेष्ठ र वडाअध्यक्ष थापालाई ध्यानकर्षण पत्र बुझाएको अध्यक्ष जि.सीले बताउनुभयो । उहाँले पहिलो चरणमा स्थानीयहरु सशरिर नगरपालिकामा उपस्थित भएर ध्यानकर्षण गराएको बताउनुभयो ।
अध्यक्ष जिसी लामो समयसम्म सम्बन्धित निकायको कुनै ध्यान नपुगेको हुँदा ध्यानकर्षण गराउन बाध्य बनेको बताउनुभयो ।
ध्यानकर्षण पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले वडाका सडकहरुको स्तरोन्नति गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले वर्षेनी ग्रामिण सडकको स्तरोन्नति गरिरहेको र यस वर्ष पनि गरिने बताउनुभयो ।