बागलुङ, २ फागुन । बागलुङ नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले जितेको छ ।
बिहिबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण पदक सहित ५७ पदक जित्दै चिल्ड्रेन लाईफले उपाधि चुमेको हो । चिल्ड्रेन लाईफले २३ रजत र १९ कास्य पदक जित्यो ।
११ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको अमर आदर्श आवासिय माध्यमिक विद्यालय दोस्रो भएको छ । अमर आदर्श साविक विजेता समेत हो । यस्तै १० स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको गणेश माध्यमिक विद्यालय तेस्रो भएको छ ।
प्रतियोगितामा सबैभन्दा आर्कषक मानिने भलिवल तर्फ छात्र भलिबलमा बिद्यामन्दिर माध्यमिक विद्यालयले स्वर्ण पदक जित्यो । फाइनल खेलमा बिद्यामन्दिरले धवलागिरि बिरेन्द्र माध्यमिक विद्यालयलाई २५–११, २५–२०, १९–२५ र १५–११ को सेटमा पराजित गरेको हो । यस्तै चिल्ड्रेन लाइफले सिगाना माविलाई २५–२० र २५–२३ को सेटमा पराजित गर्दै कास्य पदक जित्यो । छात्रा तर्फको भलिबलमा धवलागिरि बिरेन्द्र माबिले स्वर्ण पदक जितेको छ । कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैमा कालिका कन्या माध्यमिक विद्यालयले स्वर्ण पदक प्राप्त गरेको छ ।
कुल ५६ स्वर्ण पदकको लागि भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत ५३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विजेता खेलाडी र विद्यालयलाई नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।