बागलुङ, १ फागनु । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले राज्यले सञ्चार क्षेत्रलाई निशर्त सहयोग गर्नुपर्ने बताउनुभएको छ । बागलुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित बागलुङखबरडटकम अनलाईनको तेस्रो वार्षिकोत्सव तथा न्यू मिडिया, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै मन्त्री पाठकले प्रदेश सरकारको सहयोग जिल्ला जिल्ला र दुरदराजको पत्रकारहरुसम्म पु¥याउनका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले पत्रकारिताले नागरिकमा आशाको सञ्चार गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो देशमा निरासाको मात्रै खेती भैरहेको छ,’उहाँले भन्नुभयो,‘आशाको सञ्चार गराउने कुरामा पत्रकारिता क्षेत्रले योगदान गर्नुपर्छ ।’ उहाँले मिडियालाई आम नागरिकले विश्वास गर्ने भएकोले सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । ‘मिडियाप्रति आम नागरिकले विश्वास गर्दछन्, मिडियामा आएको कुरालाई फेरी भेरीफाई गर्न लाग्दैनन्,’ उहाँले भन्नुभयो,‘त्यसैले सहि आयो भने यसले समाजलाई राम्रो गर्दछ, यदि गलतलाई विश्वास गरे भने त्यसले नराम्रो गर्दछ ।’
उहाँले सूचना प्रविधिको विकासले विश्व नै साँघुरिएकाले यसको सही उपयोग गर्नुपर्ने बताउनुभयो । ‘हामीले आफुलाई समयसंगै स्मार्ट बनाउँदै लैजानुपर्नेछ, पत्रकारिताको धर्ममा इमानदार भएर अगाडि बढ्न सकेको खण्डमा हामीले पत्रकारिताको ओज बढाउन सकिन्छ,’ मन्त्री पाठकले भन्नुभयो ।
अहिलेको व्यवस्था ल्याउन मिडियाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले यसको सफलताको लागि पनि मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्नुको पछाडि मिडिया क्षेत्रको ठूलो भूमिका छ,’मन्त्री पाठकले भन्नुभयो,‘यसको सफलताका लागि पनि मिडियाले भूमिका खेल्नुपर्छ । यो यसरी नै नैराश्यता बढ्यो भने व्यवस्था असफल हुने खतरा हुन्छ र त्यसले देशलाई दुर्घटनातर्फ लैजान्छ ।’ अहिले भैरहेको गलत कुरा भ्रष्ट्राचारलाई उदाङ्गो पार्दै जनतामा भरोसा सिर्जना गर्ने काममा पत्रकार लाग्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमले सिंगो पत्रकारिता क्षेत्रमा देखिएको चूनौती सामना गर्नेगरी पत्रकारहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘पत्रकारिता क्षेत्रमा सम्भावना र चूनौती दुबै छन्,’ उहाँले भन्नुभयो,‘हामीले चूनौतीको सामना गर्ने र अवसरको उपयोग गर्नेगरी अगाडि बढ्नुपर्छ । आफुलाई त्यही अनुरुप ढाल्नसक्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरु पार लगाउनका लागि पत्रकारले आफुलाई समयानुकुल परिस्कृत गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, गण्डकी प्रदेश सदस्य रञ्जिता शर्मा, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्मा, प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष अनिष खाती, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले न्यू मिडियाले पत्रकारितामा अथाह सम्भावना बोकेर आएको र त्यसलाई अपनाउन पत्रकारले आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कर्यक्रममा नेपाल पूर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टिकाबहादुर कार्की, कृषि सहकारी संघ बागलुङका उपाध्यक्ष मणिभद्र शर्मा, धौलागिरि आयुर्वेद अस्पतालका लेखा अधिकृत यामबहादुर थापा, पत्रकाहरु रामकृष्ण बोहोरा, प्रदिप पन्त, ताराप्रसाद शर्मा, डम्मर बुढामगर, खेमराज गौतम सुवास, विनोद प्रतिक थापा लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारले समयको पदचाप पछ्याउन सक्नुपर्ने बताएका थिए । उनीहरुले सूचना प्रविधिको विकासले छिटो छिटो सञ्चार माध्यमको विकास भैरहेकाले पत्रकारले समयको गतिलाई बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सूचना र प्रविधिको विकासले गर्दा पत्रकारिता क्षेत्रमा पनि उल्लेख्य परिवर्तन आएको छ, हामी पत्रकारहरुले पनि समयको गतिलाई बुझेर त्यही अनुसार आफुलाई अपडेट गर्न सक्नुपर्छ,’उनीहरु भने,‘समयको पदचाप पछ्याउन नसके हाम्रो पत्रकारिता आम नागरिकका लागि उपयोग बिहीन हुन्छ । हाम्रो उपादेयतामा कमी आउँदै जान्छ ।’
सूचना प्रविधि र पत्रकारिताको क्षेत्रमा न्यू मिडियाको आगमनले प्रसस्त अवसर चूनौती दुबैको सिर्जना गरेको उनीहरुको भनाई थियो । ‘न्यू मिडियाको आगमनसंगै हामीले हाम्रा सञ्चार सामग्रीहरु विश्वभरका स्रोत दर्शक र पाठकसामु पु¥याउन सकेका छौं,’उनीहरु भन्छन्,‘त्योसंगै हामीसंग प्रसस्त चूनौतीहरु पनि छन् । अनलाईन सञ्चारमाध्यमहरु सहज रुपमा सञ्चालन गर्न सकिने पनि भएकाले यसको दुरुपयोग पनि बढ्दो छ । यसले पत्रकारिताको विश्वसनियतामा चूनौती थपेको छ ।’ अनलाईन सञ्चार माध्यमलाई अहिले पनि सञ्चारमाध्यमको रुपमा सर्व स्वीकार्य बनाउन नसकिएको उनीहरुको भनाई छ ।
बागलुङ खबर डटकमका सम्पादक रामु जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले पत्रकारितामा न्यू मिडियाको चुनौती र अवसर विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन कार्कीले गर्नुभएको थियो ।
यस्तै बागलुङखबरडटकमको वार्षिकोत्सवको अवसरमा बागलुङ मिडिया हाउस प्रा.लि.ले एक लाख रुपैयाँको ‘टहलबहादुर कार्की आपतकालिन दुर्घटना उद्धार राहत कोष’को घोषणा गरिएको छ ।
प्रा.लि.का सञ्चालक खिमबहादुर कार्कीले एक लाख रुपैयाँको कोष गुँहेली सञ्चार सहकारी संस्थामा राखिएको र त्यसको व्याजबाट दुर्घटनामा परेर आपतकालिन रुपमा उद्धार गर्नुपर्ने व्यक्तिलाई यातायात खर्च उपलब्ध गराउने बताउनुभयो । त्यसलाई समयक्रमसंगै बढाउने लैजाने उहाँले जानकारी दिनुभयो ।