बागलुङ, ५ माघ । जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियन
बनेको हो ।
निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले अग्रता लियो ।
तर दोस्रो हाफमा १५ औं मिनेटमा प्रहरीको लागि बराबरी गोल गर्दैै टोलीलाई खेलमा फर्काए। थप २० मिनेटमा गोल भएन ।
ट्राइबेकरमा प्रहरीका सुमित श्रेष्ठ, रन्दीप पौडेल, रोशन छन्त्याल, सन्दिप तामाङ र विवेक गुरुङले गोल गरे । संकल्पका मुकुन्द निउरे, राहुल गुरुङ र भगवत चौधरीले गोल गरे । संकल्पका सुवास गुरुङको प्रहार बारमा लागेर बाहिरियो ।
प्रहरीले ट्रफीसहित १ लाख २२ हजार २ सय २२ रुपैयाँ र संकल्पले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो ।
विधागत पुरस्कारमा पनि प्रहरीका खेलाडीको वर्चस्व रह्यो ।
प्रहरीका कप्तान विवेक गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रहरीका जिवनसिङ्ग ठकुरी उत्कृष्ट गोलरक्षक, सन्दिप तामाङ उत्कृष्ट मिडफिल्डर र सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
संकल्पका विशाल नेपाली उत्कृष्ट डिफेन्डर, मुकुन्द निउरे उत्कृष्ट फरवार्ड चुनिए । आदर्श विद्या मन्दिरका जोफा कोनाम र नारायण दल गणका धिरेन्द्र शाही सर्वाधिक गोलकर्ता बने ।
नारायण दल गण मुस्ताङले फेयर प्ले उपाधि प्राप्त गर्यो । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।