बागलुङ, ३० फागुन । दोस्रो संकरणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
बुधबार रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेपछि सेमिफाइनल समिकरण पुरा भएको हो । मंगलबार नै बागलुङ सुधार केन्द्र र श्रीमेहर गण सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
बुधबार भएको तेस्रो क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईबेकरबाट लिनु परेको थियो ।
खेलको १४ औं मिनेटमा रुद्रेपिपलका अविशेक गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । यद्यपि रुद्रेपिपलले त्यो अग्रता जोगाउन सकेन । बुद्धचित्तका आशिष रोका मगरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । आशिषले दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए ।
ट्राईबेकरमा रुद्रेपिपलका अर्जुन मगर, अमृत कुँवर, मनिष क्षेत्री र भिषण गुरुङले गोल गरेपनि रोशन लामिछानेको प्रहार बाहिरिएको थियो । बुद्धचित्तबाट कमल थिंग, आशिष राना मगर र कोपिल छन्त्यालले गोल गर्न सफल भएभने फिराज घिमिरे र अंकित गुरुङको बल रुद्रेपिपलका गोलरक्षक सन्दिप क्षेत्रीले बचाएका थिए ।
यस्तै बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आदर्श स्पोर्टस् क्लबले धवलागिरी बहुमुखी क्याम्पसलाई ५–० गोलअन्तरले पराजित गदैै सेमिफाइनलमा प्रवेश गर्यो ।
खेलमा धौलागिरी बहुमुखी क्याम्पस माथि आदर्श स्पोर्टस पूर्ण रुपमा हावी भएको थियो । खेलको पाँचौं मिनेटमा विदेशी खेलाडी फिलिप्स भिक्टरले गोल गर्दै आदर्शलाई अग्रता दिलाएका थिए । आदर्शको लागि खेलको १० औं मिनेटममा रिजन पुन र २० औं मिनेटमा सुरेन्द्र गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए । भिक्टरले खेलको ४५ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरेभने युवराज ढकालले ६७ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बिहिबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो खेल बागलुङ सुधार केन्द्र र रुद्रेपिपल युवा क्लब विचहुनेछ भने दोस्रो खेल श्रीमेहर गण र आदर्श स्पोर्टस् क्लब विच हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।