बागलुङ, २० साउन । बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम शुरुवात गरेको छ । बागलुङ नगरपालिकामा रहेका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै नगरले बेञ्च वितरण थालेको हो ।
एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु नगरपालिकाले १४ वटा विद्यालयका लागि उपलव्ध गराएको हो । हरेक वडाको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीका लागि पुग्ने गरी यो बर्ष बेञ्च वितरण गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
यो बर्ष रामरेखा आधाभुत विद्यालयले ८, रुद्रेपिपल माविले ३३, धवलागिरी बिरेन्द्र माविले १६, कुँडुले माविले १२, कृष्ण आधारभुतले ६, लहरेपिपल माविले ७, तितौरे माविले १५, बौंडेचौर माविले १०, तित्याङ माविले ११, भैरव माविले ११, जनता आविले ९, लक्ष्मीनारायण आमाविले ९, त्रिभुवन माविले १४ र जनताधनले ८ बेञ्च पाएका छन ।
नगरपालिकाका भएका २४ माध्यमिक, ९ आधारभुत र ४९ वटा प्राथमिक तहका गरी ८२ विद्यालयमा यो कार्यक्रम लागु हुनेछ । एकै बर्ष बजेटले पुगेन तथा कार्यान्वयन पनि कठिन भयो भने आगामी वर्षहरुमा निरन्तर रुपमा बेञ्चहरु विद्यालयमा पुग्ने र कुनै पनि विद्यालय नछुट्ने पोखरेलले बताए ।
नगरले तयार गरेका बेञ्चमा दुई जना विद्यार्थी आरामले बस्न मिल्छ भने विद्यार्थीहरुको झोला तथा खाजा राख्नका लागि बेञ्चमा नै व्यवस्था मिलाईएको छ । नगरपालिकाले विद्यालयहरुमा सेनेटरी प्याडसमेत वितरण गरेको छ ।