बागलुङ, ११ मंसिर । बागलुङको पर्यटकीय ठाँउ ढोरपाटन उपत्यकामा केन्द्रिय बिजुली पुगेको छ । विहिबा देखि केन्द्रीय विद्युत प्रसारण प्रणालीमा जोडिएको हो । बुर्तिवाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको करिब ३५ किलोमिटर लामो ११ के.भी. विद्युत लाइन नेपाल विद्युत प्राधिकरणको करिब १८ करोड रुपैयाँ लागतमा निर्माण भएको हो। निर्माण सम्पन्न भएको केही समयदेखि सञ्चालनमा आउन नसकेको उक्त लाइन आवश्यक मर्मत तथा समस्या समाधानपछि आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।
बागलुङ वितरण केन्द्रले सरोकार निकाय संग समन्वयमा गरी समस्याहरू समाधान गरी आवश्यक मर्मत कार्य सम्पन्न गरी लाइन सुचारु गरिएको हो।
बुर्तिवाङ सब–स्टेशनको ११ के.भी. बुर्तिवाङ फिडरअन्तर्गत रहेको उक्त लाइन सञ्चालनमा आएपछि वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन्। यससँगै उक्त क्षेत्रका उपभोक्तालाई राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट विद्युत आपूर्ति उपलब्ध गराउने व्यवस्था भएको छ।
लाइन सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताले अब विद्युत जडानका लागि जुनसुकै समयमा पनि बागलुङ वितरण केन्द्रको बुर्तिवाङ नोलाइटमार्फत आवेदन फाराम भरी विद्युत जडानका लागि अनुरोध गर्न सक्ने केन्द्र प्रमुख श्री दिलिप मरासेनीले जानकारी दिए ।
विद्युत लाइन सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रका उपभोक्ताले भोग्दै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ।यसबाट उक्त क्षेत्रको सामाजिक, आर्थिक तथा विकास गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।







