काठमाडौं, ६ कात्तिक । टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले हराएको हो ।
एक सय ६० रनको मध्यम लक्ष्य पछ्याएको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतका लागि विराट कोहलीले अविजित ८२ रनको योगदान गर्नुका साथै हाद्धिक पाण्डेयले ४० र सूर्यकुमार यादवले १५ रन जोडे । बलिङमा पाकिस्तानका हरिश रफ र मोहम्मद नवाजले दुई दुई तथा नसिम शाहले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि शान मक्सुदले अविजित ५२ र इफ्तिहार अहमेदले ५१ रन बनाउनुका साथै शाहिन शाह अफ्रिदीले १६ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा भारतका अर्शदीप सिंह र हाद्धिक पाण्डेयले तीन तीन विकेट लिए भने भुवनेश्वर कुमार र मोहमेद सामीले एक एक विकेट लिएका थिए ।