बागलुङ, २४ असोज । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङबाट ३६ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरि संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेस (वीपी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा २ जना स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका केन्द्रीय सदस्य डा. सुर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, नेपाली कांग्रेस (वीपी) का शिवलाल सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै कृष्ण शंकर श्रेष्ठ र चन्द्र बहादुर क्षेत्रीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठ गठबन्धनका बागी उम्मेदवार हुन् । श्रेष्ठ नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष हुन् । क्षेत्री भने यहाँ स्थित आदर्श माविका शिक्षक हुन् ।
चित्रबहादुरलाई अप्ठेरो
कांग्रेस नेता कृष्ण शंकर श्रेष्ठले नै बागलुङ क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दर्ता गराएपछि गठबन्धनका शीर्ष नेताहरु चित्रबहादुर केसीलाई प्रभाव पर्ने देखिन्छ । पूर्व जिल्ला कोषाध्यक्ष श्रेष्ठले बागी उम्मेदवारी दिनुले यहाँका कांग्रेसीको मत काट्न सक्ने आँकलन कांग्रेस नेताहरुको छ । गत स्थानीय तह चुनावमा बागलुङ १ का वडाहरुमा कांग्रेस एक्लैले १९ हजार मत पाएको थियो ।
त्यसमध्ये उल्लेख्य मत काटेर गठबन्धनका उम्मेदवारलाई हराउने श्रेष्ठको आत्मविश्वास देखिन्छ । ‘कांग्रेसका साथीहरुले मलाई मत दिनुहुन्छ, यही मतकै आधारमा मैले चित्रबहादुरसँग प्यारलल मत ल्याउँछु,’ श्रेष्ठले भने ।
श्रेष्ठले असन्तुष्ट कांग्रेसी कार्यकर्ताको मत काटेर चित्रबहादुर केसीलाई हराउने बताउँदै गर्दा कांग्रेसकै केही नेता भने श्रेष्ठले अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिने बताउँछन् ।
बागलुङ कांग्रेसका पूर्व सभापति दीपेन्द्र थापाले भने श्रेष्ठले समानुपातिकमा नाम नपाएपछि प्रत्यक्षमा बागी दिएको र पार्टीले सम्झाएपछि उम्मेदवारी फिर्ता लिने विश्वास गर्छन् । श्रेष्ठ पार्टीप्रति बफादार व्यक्ति भएकाले पार्टी निर्णय विपरित बागी उम्मेदवारी कायम नगर्ने उनको अपेक्षा छ । ‘पहिला समानुपातिकमा नाम थियो, पछि काटिएपछि चित्त दुख्यो होला । बागी राख्ने होइन, उहाँ संस्थाप्रति जिम्मा लिन सक्ने मान्छे हो,’ उनले भने, ‘बसेर सल्लाह गरेपछि उहाँले उम्मेदवारी कायम गर्नुहुन्छ जस्तो लाग्दैन ।’
बागी उम्मेदवारी दिएका श्रेष्ठ पनि उम्मेदवारी फिर्ता लिन सक्ने सम्भावना बाँकी नै रहेको बताउँछन् । निकट व्यक्तिहरुले चुनाव नलड्न आग्रह गरे आफू ब्याक हुने उनको तर्क छ । ‘अब नलड्नुस् भनेर साथीहरुले भने म एक्लै लडेर काम भएन,’ उनले भने ।
श्रेष्ठ अहिले चुनाव लड्न दृढ रहेको र उठेमा चित्रबहादुर केसीसँग प्यारलल मत ल्याउने आत्मविश्वास राख्छन् । आफू लडेपछि चित्रबहादुर केसीलाई अप्ठेरो उकालो चढ्नुपर्ने स्थितिको सिर्जना भएको उनी बताउँछन् । ‘म उठें भने त उहाँलाई अप्ठेरै उकालो चढ्नुपर्ने अवस्था बन्छ,’ उनले भने ।
यता राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार पियारी थापा भने कसैको बागी उम्मेदवारीले बागलुङमा जनमोर्चालाई अप्ठेरो नपर्ने बताउँछिन् । बागी दिनेहरु पनि पछि स्वतः ब्याक हुन बाध्य बन्ने उनको टिप्पणी छ । ‘पार्टीको निर्णय विपरित जानु भएन, गइहाले पनि ब्याक हुनुपर्छ नै । त्यही पनि कसैको बागीले बागलुङमा जनमोर्चालाई अप्ठेरो पर्ने भन्ने हुँदैन,’ उनले भनिन् । बागलुङमा जनमोर्चाको आधार र संगठन राम्रो भएकाले जो कोहीले बागी दिएपनि अप्ठेरो नपर्ने उनको दाबी थियो ।
गत स्थानीय चुनावको मत आँकडा हेर्ने हो भने यहाँ चित्रबहादुरलाई केही सहज पक्कै छ, तर कांग्रेसको मत काट्ने बागी उम्मेदवार उठे भने अप्ठेरो पर्न सक्छ । स्थानीय चुनावमा बागलुङ क्षेत्र नम्बर १ का वडामा गठबन्धनका दलले ३० हजार मत प्राप्त गरेका थिए । नेकपा एमालेले २१ हजार ९ सय र स्वतन्त्र उम्मेदवारहरुले ३ हजार ९ सय मत ल्याएका थिए ।










