गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम लिएर स्वास्थ्यकर्मीले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यो कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको बताइएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुद्र बरुवालले कार्यक्रम सञ्चालन गरेर उपहार दिन थालेपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर विगतको तुलनामा ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको प्रमुख बरुवालले बताउनुभयो । चार पटक गर्भ परीक्षण गर्दा एक/एक क्रेट अन्डा र तोकिएको स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई कुखुराको भाले दिने गरिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाले सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अन्डा दिने गरेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२७ गर्भवती महिलाले तोकिएको स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनुभएको छ ।