बागलुङ, २९ भदौ । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ आज ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा विविध कार्यक्रम मनाइएको हो ।

बाल दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा १० की रश्मी श्रीस प्रथम भएकी छिन् । यस्तै कक्षा १० कै पार्वती नेपाली द्धितिय, कक्षा १० का राजेन्द्र जिसी तृतीय र कक्षा १० का तुफान श्रीस र कक्षा ८ की जमुना नेपाली सान्तव्ना भएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका १९ जना विद्यार्थीहरु सहभगि भएका थिए । वक्तृत्वकलाको निर्णायक शिक्षकहरु हेमालाल शर्मा, रामु जि सी र गंगा शर्मा रहनुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत भएको थियो ।

विद्यालयका प्रधानाध्यापक यम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन बाल क्लबकी अध्यक्ष दुर्गादेवी परियारले गर्नुभएको थियो । कार्यक्रम अगाडी विद्यालयका विद्यार्थीहरुले बालमैत्री नारा लगाउँदै प्लेकार्ड बोकेर ¥याली गरेका थिए ।









