Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

  • रासस 
  • १९ श्रावण २०७९, बिहीबार १२:४६

बागलुङ, १९ साउन । बेँसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर अलैँची टिप्ने याममा किसानलाई उही पीरलोले सताउँछ– दुम्सीबाट अलैँची कसरी जोगाउने ?

हुन त बाहिरी जीवजन्तुबाट कम जोखिम भएको बालीमा अलैँची पर्छ । तैपनि यहाँका किसान भने दुम्सी, भार्से जस्ता जन्तुले पाक्ने बेलाको अलैँची खाइदिएर हैरान छन् । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले बर्सेनि दुम्सीले अलैँचीमा क्षति पर्याउने गरेको बताए ।

“दुम्सीले सधैँ सर्वस्व पार्छ, धेरै त उसैले खान्छ बचेको मात्रै हामीले टिप्ने हो”, उनले भने, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादनले फड्को मार्ने थियो ।” अगुवा अलैँची किसान भण्डारीले टिप्न ठिक्क भएको अलैँची दुम्सीले खाइदिने गरेको सुनाए।

उनी नौ वर्षयता अलैँचीको व्यावसायिक खेतीमा छन् । केन्द्रले सय रोपनीमा अलैँची लगाउँदै आएको छ । अलैँची बेचेर वार्षिक सात÷आठ लाखसम्म कमाई हुने गरेको अध्यक्ष भण्डारीले बताए । “जीवजन्तुबाट हुने क्षति रोक्न सकियो भने किसानको आम्दानी अझै बढ्छ”, उनले भने ।

बरेङ गाउँपालिका–२ हुग्दीशिरको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलको अनुभव पनि उस्तै छ । बरेङका अलैँची किसानलाई भार्सेले सताउने गरेको उनले उल्लेख गरे । झट्ट हेर्दा बिरालो झैँ देखिने भार्सेले अलैँची खाने र बोट छेउ बिस्टाउने गरेको अध्यक्ष पौडेलले बताए ।

“अरूबेला भार्सेले केही गर्दैन, पाकेर टिप्ने बेला हुन लाग्दा आएर खाइदिन्छ”, उनले भने, “वन्यजन्तुसँगै रोगकिरा, प्रतिकूल मौसम आदिबाट पनि अलैँची किसान मारमा छन्, उत्पादनले भाउ नपाउने समस्या पनि उस्तै छ ।” यो वर्ष तुसारो र हिउँले बिरुवा नासेको अध्यक्ष पौडेलको भनाइ छ । डढुवा रोगले पनि अलैँचीलाई बेलाबेला सताउँछ ।

“दाना लाउने बेलामा बोट मर्ने, फूल कुहिने, पूरा दाना नलाउने जस्ता समस्या अलैँचीमा बढी छ”, उनले भने, “एकातिर किसानलाई पनि अलैँची खेतीबारे प्राविधिक ज्ञानको कमी छ, अर्कोतिर जिल्लामा अलैँचीका प्राविधिज्ञ र विज्ञ पनि छैनन् ।”

उक्त समूहका किसानले गत वर्ष २० क्विन्टल अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याएका थिए । दुई वर्षअघि प्रतिकिलो जम्मा रु छ सयमा अलैँची बेचेका किसानले अघिल्लो वर्ष प्रतिकिलो रु एक हजार एक सय ५० सम्म पारेका थिए । बाहिरी क्षतिबाट जोगाउन सके अझै राम्रो आम्दानी लिन सकिनेमा त्यहाँका किसान ढुक्क छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अलैँची खेतीलाई वन्यजन्तुले क्षति पुर्याउने गरेको घटना कमै सुनिने गरेको बताए । “हामीकहाँ आधिकारिक रुपले जानकारी त आएको छैन, तर किसान सचेत हुनेपर्ने अवस्था भने देखियो”, उनले भने, “अलैँची बगानको रेखदेख गर्ने, सरसफाइ गर्ने, चिस्यान र छहारी दिने खालका रुख लगाउने गर्नुपर्छ ।”

प्रमुख भट्टराईले अलैँची बगानलाई तारबारले छेक्न सम्भव नहुने भएकाले दुम्सी, मुसा जस्ता जीवजन्तुलाई अनुकूल हुने गरी जमिन सुक्खा नराख्न र वरिपरिको ठाउँ सफा राख्न किसानलाई सुझाव दिए । अलैँची पाक्ने बेला मान्छेबाटै पनि चोरी हुने खतरा रहने हुँदा बगैँचामा हेरालु बस्नुपर्ने उनको भनाइ छ ।

अलैँचीमात्र नभएर अरू बालीनालीका लागि पनि वन्यजन्तु चुनौती बनेको किसान बताउँछन् । सबैभन्दा बढी बाँदरको डर छ । जिल्लामा कूल एक हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष ३८ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पछिल्लो पाँच÷छ वर्षयता अलैँची खेती विस्तार भइरहेको छ ।

राम्रो कमाई हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित छन् । अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ‘ब्लक’ छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा ‘पकेट’ कार्यक्रम सञ्चालित छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

अतिक्रमणको चपेटामा नेपालको एक मात्रै सिकार आरक्ष

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki