बागलुङ, १६ साउन । मानव सेवा आश्रम बागलुङले चन्दा संकलन गरेर सुरु गरेको आफ्नै भवन निर्माण कार्यले गति लिएको छ ।
बागलुङ नगरपालिका–१ निरयघाटमा थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । गत आर्थिक बर्षमा भवन निर्माण कार्यमा ९८ लाख ४६ हजार रुपियाँ खर्च भएको छ ।
भवन निर्माण समितिका कोषाध्यक्ष सुनिता श्रेष्ठका अनसार सामाजिक विकास कार्यालयको ४६ लाख ६३ हजार, बागलुङ नगरपालिकाको आठ लाख ५१ हजार, जैमिनी नगरपालिकाले १० लाख ५३ हजार रुपियाँ उपलब्ध गराएका थिए ।
भवन निर्माणको गर्न छिमेकी जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकाले एक लाख ९४ हजार, जलजला गाउँपालिका पर्वतले छ लाख ६४ हजार, विभिन्न व्यक्तिसँगबाट सहयोग तथा चन्द्र संकलन १२ लाख १७ हजार तथा आश्रमको हेटौडा शाखाले दश लाख सहयोग गरेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । कुल १२ करोड ५० लाख रुपियाँमा तीन वटा ब्लक बनाउने योगना छ । अहिले दुई वटा ब्लक निर्माणको काम जारी छ ।
हालसम्म एक करोड ६० लाख रुपियाँ खर्च भएको निर्माण समितिक अध्यक्ष शिव खडकाले बताउनुभयो । स्थानीय सरकार, संघीय सरकार र व्यक्तिगत रुपमा सहयोग संकलनबाट भवन तयार गर्ने उहाँको भनाई छ ।
सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षमा पनि भवनको लागि ५० लाख, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले समान १२ लाख, बेनी नगरपालिकाले चार लाख, गलकोट नगरपालिकाले पाँच लाख, बरेङ गाउँपालिकाले ६ लाख ५० हजार रुपियाँ विनियोजन गरेका छन् । विवाइसी सहकारीमा आबद्ध कर्मचारीले प्रतिदिन एक रुपियाँका दरले चन्दा संकलन गरी एकमुष्ट आठ लाख ६४ हजार सहयोग गरेको अध्यक्ष खडकाको भनाई छ ।
सबैलाई उपयोगी हुने सामाजिक संरचना निर्माणमा सबैको साथ र सहयोग अनिवार्य भएको समाजसेवी देवबहादुर श्रेष्ठको भनाई छ । आश्रमका संरक्षकसमेत रहनुभएको श्रेष्ठले सडक मानव मुक्त अभियान र बेसाहारालाई साहारा दिने संस्थाको विकासमा नागरिक तहबाटै अभियान सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । आश्रममा अहिले ४६ जना असहायक मानिस बस्दै आएको आश्रमका अभिभावक सुमिरा लामाको भनाई छ ।