काठमाडौं, ५ जेठ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन् ।
नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदासयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ । ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत नदिएको निर्वाचन परिणामबाट देखिएको बताए। उनका अनुसार गठबन्धन नेतृत्वले सिट बाँडफाँटमा देशभर नेकपा एसलाई धोका दिएको र मतदानमा पनि यसको असर देखिएको छ ।
काठमाडौंको शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतका नेकपा एसलाई गठबन्धन दलबाट धोका भएको देखिएको छ । काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।