Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका साना दलले यसरी माग्दैछन् मत

  • राम बहादुर थापा
  • २२ बैशाख २०७९, बिहीबार १९:१७

राम बहादुर थापा
बागलुङ, २२ वैशाख । कोखिलामा झोला बोकेर नौबिसेटोलतिर लखरलखर हिँडिरहनुभएको थियो, भक्तबहादुर विक । सोमबार बिहानपखको कुरा हो । उहाँ एक्लै बागलुङ बजारका चोक, गल्ली चहार्दै चुनावी पर्चा बाँडिरहनुभएको थियो । समर्थक र प्रस्तावकधरी विकसँग थिएनन्, जसले मनोनयन दर्तामा सघाएका थिए ।

“गरिब, दुखी, उत्पीडितको पार्टी हो, हामीसँग को हुन्छ र रु न खर्च गर्ने पैसा छ, न हाम्रापछि अरुकाझैँ कार्यकर्ता छन्”, उहाँले गुनासो बिसाउनुभयो, “भ्याएसम्म घरघर पुगेको छु, बाटोमा भेटिनेसँग मत मागेको छु ।” विक नेपाल दलित पार्टीका तर्फबाट इनार चिह्न लिएर बागलुङ नगरपालिकाको प्रमुख पदमा चुनाव लड्दै हुनुहुन्छ ।

उहाँसँग चुनाव चिह्न अङ्कित सानो पर्चा र प्रतिबद्धतापत्र मात्र साथमा छ । अरुथोक परैको कुरा एउटा झण्डासमेत छैन । उहाँले चुनावी प्रचारका लागि आफूसँग पैसा नभएको बताउनुभयो । ‘मानवता, श्रमिक समानता, लोकतन्त्र’ आर्दश वाक्य लिएर नेपाल दलित पार्टी चुनावमा होमिएको छ । छुवाछूत, भेदभाव, महिला हिंसाको अन्त्य, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चिततासहित दिगो विकासका मुद्दा उसको प्रतिबद्धतापत्रमा उल्लेख छन् ।

सो पार्टीले बागलुङ र ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिकालगायत स्थानीय तहमा आफ्ना उम्मेदवार उठाएको छ । ठूला दलहरुको आक्रामक चुनावी प्रचारबीच सामाजिक सञ्जाल र चिनेजानेका आफन्त, भाइसाथीसँग मत मागिरहनुभएका अर्का उम्मेदवार हुनुहुन्छ, सुरज खड्का । उहाँ विवेकशील साझा पार्टीबाट बागलुङ नगरपालिकाको प्रमुख पदका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

“हामी त चुनावमा एक रुपैयाँ पनि खर्च गर्न सक्दैनौँ, सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छौँ, चिनेजानेकालाई भेटेर अनुरोध गर्छौँ”, उहाँले भन्नुभयो, “ठूला पार्टीले जस्तो गर्नलाई हामीसँग सङ्गठन पनि छैन, स्रोतसाधन पनि छैन ।” सो पार्टीले बागलुङ नगरपालिकाबाहेक यहाँका अन्य स्थानीय तहमा उम्मेदवार खडा गरेको छैन । ‘भ्रष्टचारमुक्त समाज निर्माण हाम्रो अभियान, समतामूलक समुन्नतिका लागि तराजुमा मतदान’को आह्वानसहित विवेकशील साझा पार्टी चुनावमा छ ।

नेपाल कम्युनिष्ट पार्टी (माले)का केन्द्रीय सदस्य मञ्जु क्षेत्रीको भनाइ पनि विवेकशील साझाका खड्कासँग मिल्दोजुल्दो छ । मालेले क्षेत्रीलाई नै बागलुङ नगरपालिकाको प्रमुखमा उठाएको छ । अरु पदमा उसका उम्मेदवार छैनन् । “ठूला दलले जस्तो तामझाम, तडकभडक गर्ने स्थिति हाम्रो छैन, जे अवस्था छ, जे सकिन्छ त्यहीअनुसार चुनावी अभियानमा लागेका छौँ”, क्षेत्रीले भन्नुभयो, “पार्टीको विचार जनताकहाँ लैजाने अवसर पनि हो चुनाव, हामीले त्यसरी पनि हेरेका छौँ ।”

चुनावी अभियानका नाममा धनराशि खर्च गर्ने ठूला दल र उम्मेदवारसँग साना दलको तुलना हुन नसक्ने उहाँको भनाइ छ । “पैसा खर्च गरेर भए पनि चुनाव जित्ने दाउमा ठूला दलहरु हुन्छन्, तर हामीसँग त्यस्तो केही छैन, विचार छ, योजना छन्, जनताले पत्याएर मत दिएछन् भने ठिकै छ, हेरौँ न ।”

यीबाहेक मङ्गोल नेशलन अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना दल चुनावी प्रतिस्पर्धामा छन् । कुनै दल अरुसँग गठबन्धन गरेर चुनाव जित्ने दाउमा छन् भने कोही एक्लै मैदानमा छन् । राष्ट्रिय जनमोर्चा सत्ता साझेदार (पाँच दलीय) गठबन्धनमा छ भने राप्रपा नेकपा (एमाले)सँग तालमेल गरेर स्थानीय तह चुनावको सामना गर्दैछ । राष्ट्रिय राजनीतिमा राजमोको हैसियत कमजोर भए पनि जिल्लामा भने उसको बलियो पकड छ ।

गठबन्धनको साझा उम्मेदवारका रुपमा राजमोले जैमिनी नगरपालिकाको प्रमुख, वरेङ गाउँपालिकाको अध्यक्षलगायतमा प्रतिस्पर्धा गर्दैछ । यस्तै काठेखोला र बडिगाड गाउँपालिकामा उपाध्यक्ष पाएको छ । अरु स्थानीय तहमा पनि वडा तहसम्मै उसको उम्मेदवारी छ । राप्रपाले उपप्रमुख लिएर बागलुङ नगरपालिकामा एमालेसँग चुनावी तालमेल गरेको छ । राप्रपाले गलकोट नगरपालिकालगायतका स्थानीय तहमा पनि उम्मेदवारी दिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ढोरपाटन नगरपालिकासहित केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले भने चुनाव बहिष्कार गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

साना दलका बाहेक स्वतन्त्र ढङ्गले उठेका उम्मेदवार पनि आ–आफ्नै तौरतरिकाले मत माग्न व्यस्त छन् । प्रचारमा तामझाम गर्न नसके पनि चुनावमार्फत हुने लोकतान्त्रिक अभ्यासप्रति उनीहरु इमान्दार देखिन्छन् । ठूला दलका रङ्गीचङ्गी झण्डा, नाचगान र भीडसहितको प्रचारशैलीसामु साना दलको आवाज मधुरो छ । उनीहरु चुनावमा तडकभडक गर्न सक्दैनन्, तर मनका सफा छन् । अफसोच १ त्यही निष्ठा र इमान्दारिताको चर्चा कम छ– सञ्चारमाध्यम, सामाजिक सञ्जालका भित्तादेखि घर–आँगन, चौतारासम्म । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki