काठमाडौं , ३ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उपाध्यक्ष रावलले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको नीतिअनुसार संचालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले थापाथलीस्थित पार्टी कार्यालयबाट उम्मेदवारी दिने घोषणा गरे पनि महाधिवेशनको व्यस्तताका कारण पार्टी कार्यालय खाली नभएको महासचिवबाट जानकारी पाएकाले रिपोर्टस क्लबबाट उम्मेदवारी घोषणा गरेको उनले बताए ।
‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु ‘ रावलले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा ९एमाले० को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।









