काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन।
दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ ।
जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित हुनेछ। हालै आफ्नी आमा गुमाएका ललित राजवंशी र विकास आग्रीका लागि यो खेल झनै भावनात्मक बन्नेछ। ललित र विकासले केहि समयअघि आमा गुमाएका थिए।
खेलमा प्रयोग भएका जर्सीहरू अक्सनमार्फत लिलामी गरी त्यसबाट संकलित रकम आमाहरूले सञ्चालन गर्दै आएका सामाजिक कार्यमा प्रदान गरिने जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
पोखरा एभेन्जर्सको टोली जलवायु परिवर्तनको चेतना फैलाउने उद्देश्यसहित विशेष डिजाइनको जर्सीमा खेल्नेछ। गत वर्ष ‘ग्लेसियर म्याटर्स’ सन्देशसहित जर्सीमा खेलेको पोखराले यसपटक पनि वातावरण संरक्षणलाई निरन्तरता दिँदैछ।
पोखराका प्रमुख सुवोध त्रिपाठीका अनुसार क्लबले सुरुदेखिनै ग्लोबल वार्मिङविरुद्ध आवाज उठाउने मिशन अपनाएको छ र यस अभियानमा जनकपुरले ‘आमाको सम्मान’ मार्फत शोकलाई शक्तिमा रूपान्तरण गर्दै हातेमालो गरेको उल्लेख गरे।
जारी एनपिएलमा दुबै टोलीको उत्कृष्ट सुरुवात हुन सकेको छैन। ८ टोली सहभागी एनपिएलमा साविक विजेता जनकपुर र पोखराले २ खेलसम्म जित निकाल्न सकेका छैनन्।
अंक विहिन जनकपुर सातौं र पोखरा पुछारमा छ। त्यसअघि बिहान ११।४५ बजे सुरु हुने खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो ४ बजे सुरु हुनेछ।









