१० भदौ, काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ । भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ ।
यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा ४ जनाको ज्यान जान थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार साउनसम्म कोरोनाका कारण मृत्युदर ०.४ प्रतिशत थियो । अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ । साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ थियो । मंगलवार १६४ पुगेको छ । नेपालमा संक्रमितको पहिलो मृत्यु जेठ २ गते भएको थियो ।
मंगलवार काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंकी ७४ र ७१ वर्षीया महिलासहित ६६ वर्षीय पुरुषको निधन भएको हो । धनुषाका ७६, पर्साका ६८, रूपन्देहीका ५६ र सिरहाका २२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश २ का छन् । प्रदेश २ का हालसम्म ६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । वाग्मती प्रदेशमा चिनियाँ नागरिकसहित ३५ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा २२, प्रदेश १ मा १९, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८/८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना छन् ।
हालसम्म सबैभन्दा बढी भदौ ५ गते ११ जनाको मृत्यु भएको छ । भदौ ८ गते १० जनाको ज्यान गएको छ । भदौ ९ गते ७ जनाको ज्यान गएको छ । १० दिन सातायता संक्रमणदर वृद्धि हुनुका साथै मृत्युदर पनि बढेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार मृत्यु हुनेमा पहिलादेखि दीर्घ समस्यासँग जुधिरहेका र औषधि सेवन गरिरहेका व्यक्ति छन्। संक्रमण ६० वर्षभन्दा कम उमेरकामा बढी भए पनि मृत्युदर भने त्यसभन्दा बढी उमेरमा बढी छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, कम संक्रमित भएकै उमेर समूहमा मृत्युदर बढी हुनु गम्भीर संकेत हो । ‘समुदायमा फैलँदै गएको खण्डमा मृत्युदर झन् बढ्न सक्छ,’ उनले भने ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ६ दिन बित्दा संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेको छ । कोरोेना संक्रमणको दर बढेर भयावह उन्मुख भएपछि निषेधाज्ञा थप गरिएको छ । मंगलवार काठमाडौंका १९९, भक्तपुरका १४ र ललितपुरका १९ गरेर उपत्यकामा २३२ सहित ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । सोमवार उपत्यकाका २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ हजार २५० जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा भने ५ हजार ६६९ जनाको उपचार भइरहेको छ । क्वारेन्टीनमा १० हजार ८५३ जना छन् ।
कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् । ती जिल्लामा मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौं छन् । मुस्ताङ र हुम्ला संक्रमणमुक्त छन् । अन्नपूर्ण पोस्ट दैनिकबाट