बागलुङ, २९ फागुन । बागलुङ सुधार केन्द्र र श्री मेहर गण बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा पहिलो क्वाटरफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गुठी युनाईटेडलाई ट्राईबेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयमा दुवै टोलीले गोलको राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
ट्राइबेकरमा बागलुङ सुधार केन्द्रको लागि अनिल गुरुङ, अभिशेक राना, निशान थापा र मनिश गुरुङले गोल गरेभने विदेशी खेलाडी मार्को भेराट्टीको प्रहार गुठीका गोलरक्षक रन्जन खत्रीले बचाएका थिए । गुठीको लागि सन्दिप केसी, अजित गुरुङ र सरोजले गोल गरेभने अविशेक केसी र विष्णु गुरुङको प्रहार बागलुङ सुधार केन्द्रका गोलरक्षक अशोक रेग्मीले बचाएका थिए ।
यस्तै मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल आर्मीको श्री मेहर गणले म्याग्दी जिल्ला फुटबल संघलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा म्याग्दी पराजित हुन पुग्यो । म्याग्दीको लागि खेलको तेस्रो मिनेटमा अनुपम श्रेष्ठले गोल गरेका थिए ।
श्रीमेहर गणको लागि खेलको ३९ औं मिनेटमा संकर कार्कीले गोल गर्दै पहिलो हाफमा खेललाई बराबरीमा पु¥याएका थिए । दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको चौथो मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहरको जित निश्चित गरे ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बुधबार क्वाटरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेल रुद्रेपिपल युवा क्लब र बुद्धचित्त विच हुनेछभने दोस्रो खेल आदर्श स्पोर्टस् क्लब र धवलागिरी बहुमुखी क्याम्पस विच हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।