बागलुङ, २८ फागुन । बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगितामा रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको खेलमा रुद्रेपिपलले मुलपानी फुटबल क्लबलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रुद्रेपिपलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।
एकतर्फी खेलमा रुद्रेपिपलले दोस्रो हाफको दोस्रो मिनेटमा अमृत कुँवरको गोलबाट अग्रता लिएको थियो । कुँवरले दोस्रो हाफको २० औं र ४१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
रुद्रेपिपलको लागि अर्जुन राना मगरले खेलको १७ मिनेटमा गोल गरेभने सन्तोष थापाले २१ औं र मनिष थापाले दोस्रो हाफको ३० औं र ४१ औं मिनेटमा गोल गरेका थिए । रुद्रेपिपलले बुधबार बुद्धचित्तसँग खेल्ने छ ।
यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा आदर्श स्पोर्टस् क्लबले संकल्प पुर्नस्थापना केन्द्रलाई १–० को संघर्षपूर्ण जित निकालेको छ । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको आदर्शको जितमा नाइजेरियन खेलाडि फिलिप्स भिक्टर नायक बने । भिक्टरले दोस्रो हाफको ३२ औं मिनेटमा गरेको गोल नै जितको निर्णायक बन्यो । आदर्शले बुधबार धौलागिरी बहुमुखी क्याम्पस बागलुङसँग प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगिताको तेस्रो दिन मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल गुठी युनाईटेड र बागलुङ सुधार केन्द्र विच हुनेछभने दोस्रो खेल साविक विजेता नेपाल आर्मीको श्री मेहर गण र म्याग्दी जिल्ला फुटबल संघ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।