उद्योगका मजदुरमा कोरोना पोजेटिभ देखिएपछि वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु बन्द हुन थालेका छन् ।
केही हप्ता अघि जीतपुरमा रहेको जगदम्बा इन्टरप्राईजेजका तीन मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उद्योग शिल गरेको थियो ।
यस्तै सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनसम्म स्थानीय प्रशासनले उद्योग शिल नगरेपछि स्थानीयले नै उद्योगमा ताला लगाएका थिए । स्थानीयले ताला लगाएपछि बिहीबार स्थानीय प्रशासनले विज्ञप्ति मार्फत उद्योग शिल गरेको जनाएको छ ।
कोराेना संक्रमित ६ जना सम्पर्क बिहिन
साउन २५ गते काठमाडौंको टोली बोलाएर एक सय २३ जनाको स्वाब संकलन गरिएकामा ११ जना पोजेटिभ देखिएको थियो ।
पोजेटिभ देखिएका ११ जना मध्ये चार जना नेपाली र अन्य ७ जना भारतीय मजदुर रहको युनियनका सचिव दीपक कार्कीले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएका ११ जना मध्ये ६ जना व्यक्ति अहिले सम्पर्कमा छैनन । उनीहरु भारतीय भएकोले भारत तर्फ नै गएको हुन सक्ने स्थानीयको आशंका गरेका छन् ।
उद्योगले बुधवार राती कन्टेनरमा राखेर ३१ जना मजदुरलाई उद्योगबाट बाहिर निकालेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्योगमा ताला लगाइदिएको स्थानीय युवा कृष्ण अधिकारीले बताए ।