बागलुङ, ४मंसिर । बागलुङमा हिजो देखि सुरु भएको हरिबोधनी एकादशी मेलाको मेलाको मुख्य आकर्षणको रुपमा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो दिन चार खेल सम्पन्न भएका छन् ।
पहिलो दिनको पहिलो खेलमा नमुना अफसेट प्रेस बागलुङलाई पराजित गर्दै जलजला गाउँपालिका पर्वत दोस्रो चरणमा प्रदेश गरेको छ । पहिलो सेट २५—१३ ले जितेको जलजलाले दोस्रो सेट २९–२७ ले गुमाउन पुग्यो । तेस्रो तथा निर्णायक सेटमा २५—१९ ले आफ्नो पोल्टमा पार्दै जलजला अघिल्लो चरणमा प्रवेश गरेको छ । अब जलजाल गाउँपालिका शुक्रबार नरेठाँटी भलिबल गलकोटसंग खेल्नेछ ।
बिहीबार नै भएको दोस्रो खेलमा कोठखोला गाउँपालिकाले बानपा—८ सिगानालाई सोझो सेटमा पराजित गरेको छ । काठेखोलाले पहिलो सेट २५–२२ र दोस्रो सेट २५—१५ ले जित्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । तेस्रो खेलामा बागलुङ नगरपालिकाले खुसी डेन्टल होम बागलुङलाई २—१ सेटले पराजित गर्यो । पहिलो सेट २६—२४ जितेको बागलुङ नगरपालिकाले दोस्रो सेट २५—१७ ले गुमाउन पुग्यो । निर्णायक सेटमा २५—२१ को पुनरागमन जित निकाल्दै बागलुङ नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको हो ।
चौथो खेलमा भने रायँडाडा खेलकुद विकास समिति बानपा—११ का खेलाडी खेल समयमा उपस्थीत नभएपछि बानपा—१२ अमलाचौर सोझै अघिल्लो चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान ८ बजेबाट भलिबल खेल सञ्चालन हुनेछ । शुक्रबार पहिलो खेल धम्जा भलिबल काठेखोला गाउँपालिका—३ का विरुद्ध जैमिनी नगरपालिका बागलुङ र दोस्रो खेल जलजला गाउँपालिका पर्वत विरुद्ध नरेठाँटी भलिबल गलकोटको बीचमा हुनेछ । शुक्रबार पुरुष भलिबल अन्तर्गत ६ वटा खेलहरु सम्पन्न गरिने रेफ्री संयोजक किशोर थापाले जानकारी दिए ।
बिहीबार भलिबल खेल, मेलाको उद्घाटनसंगै साँझ ६ बजेबाट राती १२ बजेसम्म भजन कृतन सहित सांस्कृतिक कार्यक्रम समेत गरिएको छ ।
मेलाको दोस्रो दिन शुक्रबार कालीगण्डकीमा गङ्गा स्नान, तोरण तार्ने, भजनकीर्तन, तुलसी विवाह, एकादशी प्रवचन तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ । मंसिर ५ गते भलिबल प्रतियोगिताको फाइनल, पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रमसहित मेला समापन गरिने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले एक लाख, तृतीय हुनेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलाई मेडल ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार र विद्यागत उत्कृष्ट खेलाडीले नगद दुई हजार पाँच सयका दरले पुरस्कार रकम पाउनेछन् । मेलामा धार्मिक प्रवचन, सन्ध्या आरती, स्थानीय लोक तथा भजन संस्कृतिको प्रदर्शनलगायत कार्यक्रम पनि समावेश गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण र युवाको सहभागिता बढाउने उद्देश्यले मेला पुनः सञ्चालन गर्न लागिएको मेला मूल संयोजक एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए







