बागलुङ, १८ कार्तिक । बागलुङ क्रिकेट संघले आयोजनामा आगामी मंगलबारबाट सुचारु हुन लागेको गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
संघले शनिबार अर्थात आज पत्रकार सम्मेलन गरेर यहि कार्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहने बताए । उनले नेपाल क्रिकेट संघका सदस्य जिल्लाहरु बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघले सहभागिता जनाउने बताए । नकआउटका आधारमा खेलाइने खेलको शनिबार खेल तालिका समेत सार्वजनिक गरिएको छ । बागलुङ, पर्वत र कास्की जिल्ला क्रिकेट संघ समूह ‘ए’ र तनहुँ, स्याङ्जा र नवलपुर समुह ‘बि’मा रहेका छन् ।
प्रतियोगितामा विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५–५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए ।
संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । नेपाल क्रिकेट संघ (क्यान)ले गतवर्ष ४५ औं सदस्य जिल्लाको रुपमा बागलुङलाई सदस्यता प्रदान गरेको थियो । प्रतियोगिता सम्पूर्ण खेल म्याटमा खेलाइने र आइसिसिको नियमानुसार नै खेलाइने संघले जनाएको छ ।
संघले प्रतियोगितामा सहभागि हुने पर्वतको टिमलाई १० हजार र बाँकी टिमलाई २५ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ । टिमहरुले उक्त रकमबाट खाना र आवासको व्यवस्था आफै गर्नुपर्ने संघका सदस्य तथा मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए ।
आयोजकले प्रतियोगिता संचालनको लागि १२ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सम्पूर्ण रकम सहयोगबाट संकलन गरिने संघका उपाध्यक्ष कमल पन्तले बताए । उनले प्रतियोगिता संचालनको लागि बागलुङ नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम जिल्लाका अरु स्थानीय तह सहित पूर्व खेलाडी, व्यवसायी र सहयोगीबाट संकलन गरिएको बताए ।
क्रिकेट प्रतिको बढ्दो आकर्षणलाई ध्यान दिएर प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष आचार्यले बताए । जिल्लाको टिम छनोटमा खेलाडीहरुको आकर्षक देखेर उत्साहित बनेको अध्यक्ष आचार्यको भनाई रहेको छ । ‘अहिले क्रिकेट प्रति खेलाडीहरुको आकर्षक लोभलाग्दो छ,’ अध्यक्ष आचार्यले भने,‘प्रतियोगिताको लागि जिल्लाको टिम छनोटमा समेत भारतमा रहेका खेलाडीहरु आएर सहभागिता जनाएका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी अनावरण पनि गरेका थिए । उनले अन्तराष्ट्रिय स्तरमा खेलकुदले देशको नाम रोशन गरिरहेपनि सरकारी पक्षबाट खेल र खेलाडीको लागि प्रयाप्त बजेट विनियोजित नभएको भन्दै चिन्ता व्यक्त गरे ।
२५ गते बिहान १० बजेदेखि फाइनल खेल प्रतियोगिता हुनेछ । खेल अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को नियमानुसार खेलाइनेछ ।