बागलुङ, २६ असाेज । ग्रिल उद्योगमा काम गर्ने क्रममा बागलुङमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नं. ३ स्थित गलकोट ग्रिल उद्योगमा काम गर्ने सुर्खेत घर भएका ४३ वर्षीय प्रेम कामीको शुक्रबार दिउँसो मृत्यु भएको हो । ग्रिल उद्योगमा ईलेक्ट्रिक ड्रिल मेशिनले सटर प्वाँल पार्ने क्रममा करेन्ट लागेर अचेत अवस्थामा रहेका कामीको गलकोट–३ मा रहेको ईमरजेन्सी पोलिक्लिनिक हटियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (प्रनाउ) मदन केसीले जानकारी दिए ।
प्रनाउ केसीले घटनाको जानकारी पछि प्रहरी चौकी हटिया बागलुङ र ईलाका प्रहरी चौकी गलकोट बागलुङको टोली घटनास्थल पुगेर थप अनुशन्धान गरिरहेको बताए ।