काठमाडौँ । अहिले चाडपर्वको सिजन चलिरहेको छ । यति बेला नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ मुखैमा आइपुगेको छ ।काठमाडौँ उपत्यका लगायतका विभिन्न सहरी स्थानहरूबाट दसैँ मनाउन घर जाने यात्रुहरू बढेपछि वायु सेवा तथा सवारी साधनमा चाप बढेको छ ।
यति बेला सर्वसाधारण हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटामा छन् । सडक तथा हवाई यात्राका लागि पनि टिकट बुकिङ चलिरहेको छ ।सोमबारदेखि मात्रै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
विगतका वर्षहरूमा पनि दसैँ सुरु हुनुभन्दा अगावै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाएको हो । दसैँमा घर जान र राजधानी फर्किनका लागि सहज होस् भनेर सरकारले बर्सेनि यस्तो व्यवस्था गर्दै आएको छ ।
जुन यात्रा गर्दा पनि सिट सुरक्षित गर्न र अतिरिक्त भाडाको तिर्न नपरोस् भनेर अग्रिम टिकट बुकिङ काट्ने गरिन्छ । सडक यात्रा गर्दा सवारीहरूमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र चर्को भाडा असुल्ने गरेका छन् । तर, हवाई यात्रा गर्नेहरूको हकमा त सिट क्षमताभन्दा धेरै यात्रु बोक्न सम्भव नभएपछि शुल्कको लागिभन्दा पनि सिट सुरक्षित गर्नकै लागि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गर्छन् । विभिन्न गन्तव्यका लागि हवाई टिकट बुकिङ करिब ९० प्रतिशत सकिएको वायु सेवा कम्पनीहरूले बताएका छन् ।
अग्रिम टिकट बुकिङ्गसंगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूले टिकट भाडा पनि ह्वात्तै वृद्धि गरेका छन् । चाडपर्वको बेला घर जानका लागि धेरै यात्रुले हवाई टिकट खोज्ने र बुकिङ गर्ने भएकाले भाडा पनि पनि वृद्धि गर्ने गर्दछन् । यद्यपि, नियमित उडान भइरहेको बेला तथा सामान्य मौसम हुँदा भने टिकटको भाउ सस्तो हुने गर्दछ ।
हवाई सेवा प्रदायक कम्पनी र गन्तव्यका आधारमा टिकटको मूल्य फरक–फरक हुने गरेको छ । नेपालका हवाई सेवाप्रदक कम्पनी यति एयरलाइन्स, बुद्ध, श्री, सौर्य, लगायत सबै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि भाडा वृद्धि गरेका छन् । अघिपछि नियमित उडान भइरहेको बेला भन्दा दसैँको समयमा टिकट महँगो पर्दछ ।
काठमाडौँदेखि धनगढीको टिकट सबैभन्दा महँगो, छोटो गन्तव्यकै ५ हजार बढी
दसैँको बेला घर जाँदा काठमाडौँदेखि धनगढीको हवाई टिकट सबैभन्दा महँगो देखिएको छ । उक्त गन्तव्यका लागि १७ हजार भन्दा बढी छ । काठमाडौँदेखि धनगढी जान न्यूनतम पनि ११ हजार रुपैयाँ छ । यद्यपि, अन्य समयमा अर्थात् नियमित उडान भइरहेका बेलामा भने ६/७ हजार रुपैयाँ मात्रै पर्दथ्यो ।
आन्तरिक उडानमा काठमाडौँदेखि दोस्रो महँगो टिकट सुर्खेतको रहेको छ । उक्त गन्तव्यका लागि न्यूनतम ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पुगेको छ ।
यस्तै, काठमाडौँदेखि नेपालगन्जसम्मको भने न्यूनतम ६ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्म पुगेको छ । यता, काठमाडौँदेखि सबैभन्दा छोटो दुरीमा रहेको काठमाडौँ–सिमराका लागि भने साढे ४ हजारसम्म पुगेको छ ।
त्यसैगरि काठमाडौँदेखि विराटनगरको लागि १० हजार रुपैयाँ, भद्रपुरको लागि १२ हजारभन्दा बढी, जनकपुरको लागि ६ हजार, पोखराको लागि ६ हजार माथि, भैरहवाका लागि साढे ८ हजार माथि, भरतपुर ५ हजार, राजविराजका लागि साढे ८ हजार बढी पुगेको छ ।