Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ भाद्र २०८०, आईतवार ०८:४१

बागलुङ, २४ भदौ । बागलुङको ताराखोला गाउँपालिकाको तारागाउँका मगर समुदायमा चार सय वर्षअघिदेखि मनाइँदै आएको परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा छ ।

मगर समाज ताराखोलाका अध्यक्ष झकबहादुर घर्तीमगरले यो पर्व मगर समुदायमा परम्परागत रूपमा पितृ उद्धारका लागि गरिने कुलपूजा भएको बताउनुभयो । यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजा गरिने उहाँले बताउनुभयो । मगर समुदायभित्रको पुरानो मौलिक संस्कृतिका रूपमा मनाइँदै आएको पर्वलाई युवा पुस्ताले पनि साथ दिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पर्वको पहिलो दिन गाउँका बुढापाकाले घर र बाटोघाटो सरसफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवकयुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए । चौथो दिन युवकयुवतीबिच सिस्नो खोसाखोस गरियो ।

समाजका अध्यक्ष घर्तीमगरले भन्नुभयो, “सोमबार साँझदेखि विधिवत् रूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ । चौथो दिन सुँगुरको साप्रोलाई हरियो सिस्नाको मुठाभित्र बाँधेर अविवाहित युवकयुवतीद्वारा खोसाखोस गरिन्छ ।” कुलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम)

ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी गरिन्छ ।

यसपालि पनि उनीहरूले चार दिनसम्म यो पर्व भव्य रूपमा मनाए । युवकयुवतीबिच सिस्नो खोस्ने कार्यक्रम निकै रमाइलो हुन्छ । शनिबारदेखि सुरु भएको पर्व मङ्गलबार अविवाहित युवकयुवतीबिच सिस्नो खोसाखोस गरेर समापन गरियो ।

झन्डै चार सय वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पुर्खाले पर्वको प्रचलन बसालेको समाजका अध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँलेले पर्वलाई पुर्खाको नासोका रूपमा लिन्छन् । पर्व जोगाउन बुढापाकादेखि युवा पुस्ताको सक्रियता र सहभागिता रहँदै आएको उहाँ बताउनुहुन्छ ।

मगर समुदायको मौलिक संस्कृति र पहिचान जोगाउने दायित्व युवा पुस्ताको भएकाले सिस्नो खोस्ने पर्वमा सहभागी भएको तारागाउँकी शर्मिला रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “सिस्नो खोस्ने पर्वलाई युवकयुवतीबिच भेटघाट हुने र आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवकयुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास छ ।”

बलि दिइएको सुँगुरको साप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछि पछि सुँगुरको साप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाको जमात हुन्छ । समूहमा ‘आयो आयो’ भन्दै गीत गाउने प्रचलन रहेको रोकाले बताउनुभयो ।

मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न युवती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवकयुवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साप्रो खोस्न युवती होमिन्छन् । अनि सुरु हुन्छ, दुवैतिर सिस्नो तानातान र खोसाखोस ।

यो दृश्य निकै अनौठो र रोमाञ्चक देखिन्छ । युवकयुवतीबिच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सुँगुरको साप्रोको मासु प्रसादका रूपमा सबैले मिलेर खाने प्रचलन रहेको मगर समाज तारागाउँका अध्यक्ष घर्तीमगरले बताउनुभयो  । पर्वको मौलिकता जोगाउन र संरक्षण गर्न समाजले काम गरेको उहाँको भनाइ छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki