Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

  • BAGLUNGKHABAR
  • २४ भाद्र २०८०, आईतवार ०८:४१

बागलुङ, २४ भदौ । बागलुङको ताराखोला गाउँपालिकाको तारागाउँका मगर समुदायमा चार सय वर्षअघिदेखि मनाइँदै आएको परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा छ ।

मगर समाज ताराखोलाका अध्यक्ष झकबहादुर घर्तीमगरले यो पर्व मगर समुदायमा परम्परागत रूपमा पितृ उद्धारका लागि गरिने कुलपूजा भएको बताउनुभयो । यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजा गरिने उहाँले बताउनुभयो । मगर समुदायभित्रको पुरानो मौलिक संस्कृतिका रूपमा मनाइँदै आएको पर्वलाई युवा पुस्ताले पनि साथ दिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पर्वको पहिलो दिन गाउँका बुढापाकाले घर र बाटोघाटो सरसफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवकयुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए । चौथो दिन युवकयुवतीबिच सिस्नो खोसाखोस गरियो ।

समाजका अध्यक्ष घर्तीमगरले भन्नुभयो, “सोमबार साँझदेखि विधिवत् रूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ । चौथो दिन सुँगुरको साप्रोलाई हरियो सिस्नाको मुठाभित्र बाँधेर अविवाहित युवकयुवतीद्वारा खोसाखोस गरिन्छ ।” कुलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम)

ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी गरिन्छ ।

यसपालि पनि उनीहरूले चार दिनसम्म यो पर्व भव्य रूपमा मनाए । युवकयुवतीबिच सिस्नो खोस्ने कार्यक्रम निकै रमाइलो हुन्छ । शनिबारदेखि सुरु भएको पर्व मङ्गलबार अविवाहित युवकयुवतीबिच सिस्नो खोसाखोस गरेर समापन गरियो ।

झन्डै चार सय वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पुर्खाले पर्वको प्रचलन बसालेको समाजका अध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँलेले पर्वलाई पुर्खाको नासोका रूपमा लिन्छन् । पर्व जोगाउन बुढापाकादेखि युवा पुस्ताको सक्रियता र सहभागिता रहँदै आएको उहाँ बताउनुहुन्छ ।

मगर समुदायको मौलिक संस्कृति र पहिचान जोगाउने दायित्व युवा पुस्ताको भएकाले सिस्नो खोस्ने पर्वमा सहभागी भएको तारागाउँकी शर्मिला रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “सिस्नो खोस्ने पर्वलाई युवकयुवतीबिच भेटघाट हुने र आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवकयुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास छ ।”

बलि दिइएको सुँगुरको साप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछि पछि सुँगुरको साप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाको जमात हुन्छ । समूहमा ‘आयो आयो’ भन्दै गीत गाउने प्रचलन रहेको रोकाले बताउनुभयो ।

मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न युवती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवकयुवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साप्रो खोस्न युवती होमिन्छन् । अनि सुरु हुन्छ, दुवैतिर सिस्नो तानातान र खोसाखोस ।

यो दृश्य निकै अनौठो र रोमाञ्चक देखिन्छ । युवकयुवतीबिच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सुँगुरको साप्रोको मासु प्रसादका रूपमा सबैले मिलेर खाने प्रचलन रहेको मगर समाज तारागाउँका अध्यक्ष घर्तीमगरले बताउनुभयो  । पर्वको मौलिकता जोगाउन र संरक्षण गर्न समाजले काम गरेको उहाँको भनाइ छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki