बागलुङ, २० असार । इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै आज बागलुङ बजारमा राँकेजुलुस प्रदर्शन गरेका छन् ।
सहकारीका अध्यक्ष देवकुमार नेपाली बचतकर्ताको १ अर्व भन्दा बढी रकम हिनामिना गरेर फरार भएपछि इमेज बचतकर्ता संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम गर्दै आएको समितिको आव्हनमा सयौँ बचतकर्ताले राँकेजुलुस प्रदर्शन गरेका हुन् ।
बागलुङ नगरपालिका–३ स्थित लाङ्घालीचोकबाट निस्केको राँकेजुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।राँकेजुलुस सहित सयौको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको घेरा तोड्दै इमेज बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पुगेका थिए ।
जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए ।
जुलुसमा सहभागी भएका बचतकर्तालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले असार २१ गते बागलुङ बजारमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको भन्दै सहभागिताको लागि आव्हन गर्नुभएको थियो ।
उहाँले इमेज सहकारीबाट पीडित बनेका १ हजार २ सय ६० जनाले प्रहरीमा जाहेरी दिएपनि इमेजका अध्यक्षलाई खोज्नको लागि प्रहरीले सक्रियता नदेखाएको, पीडित प्रति राज्य जवाफदेही नभएको भन्दै शसक्त आन्दोनमा जाने तयारी गरेको बताउनुभयो ।उहाँले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।