काठमाण्डौ , १० बैशाख । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएईले एसिसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा सिंगापुरमाथि दुई सय एक रनले जित निकालेको छ।
आज दुवै इनिङमा गरी कीर्तिपुर मैदानमा सात सय ४१ रन बन्यो। यो ‘हाइस्कोरिङ म्याच’ युएईकै कारण सम्भव भएको थियो। त्यसअघि त्रिवि खेलमैदानमा पहिले ब्याटिङ गर्दै युएईले चार सय ७१ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो।
चार सय ४२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिंगापुरले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ७० रन बनायो।
जितसँगै युएई समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। तीन खेल खेलिसकेको उसले चार अंक बनाएको छ भने दुई खेल खेलेको हङकङको पनि चार अंक छ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले अन्तिम बलमा अलआउट हुनुअघि चार सय ७१ रन जोडेको थियो। रनको पहाड खडा गर्ने क्रममा युएईका कप्तान मोहम्मद बसिम र विकेटकिपर ब्याटर भृत्य अरबिन्दले शतक प्रहार गरे।
८२ बल सामना गरेका बसिमले १६ छक्का र नौ चौकाको सहयोगमा एक सय ६० रन बनाए। ६२ बलमै उनले शतक पूरा गरेका थिए।
अरबिन्दले एक सय ३३ बलमा एक सय ७४ रन बनाए। उनले सात छक्का र १७ चौका हिर्काए। यस्तै, आयन खानले ५० बलमा ७४ रन बनाए।
जवाफी ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा दुई सय ७० रन मात्र बनाउन सक्यो। सिंगापुरका लागि मनप्रीत सिंहले सर्वाधिक ६६ तथा थिलिपन ओमाइदुराईले ५२ रन बनाए।