बागलुङ, ८ चैत । क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू १९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो।
नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू १९ टोलीलाई विश्वकपमा पुर्याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ।
खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए। ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छ,ु नगरप्रमुख श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं।’
त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्।
सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको र यो सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए।
करण बागलुङ नगरपालिका ८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका १ पालाका हुन्।