नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शुरु हुनुअघि गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन्।
एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देसाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको पौडेलले बताए।
प्रशिक्षक देसाईको प्रशिक्षणमा टोली राम्रो भएको उनले बताए। घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको सदुपयोग गर्ने पनि उनले बताए।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनमा आफूले खेलाडीमा भएको क्षमता अझ निखार्न प्रयास गरेको बताए।
प्रशिक्षणका क्रममा प्रशिक्षक देसाईले नेपाली खेलाडीमा आफूले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देसाईले बताए।
देसाईले मंगलबार शुरु हुने श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने श्रृंखलामा सहभागी हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाल आइसकेका छन्।
खेलअघिको पत्रकार सम्मेलनमा स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने बताए।
प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमै प्रतिस्पर्धा गर्न कठिन हुने बताए। आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने अपेक्षा उनले व्यक्त गरे।
उता नामिबियाका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल खेल्न बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए। उनले आफ्नो टोली शीर्ष ४ मा अटाइसकेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा उक्लिने रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताए।
श्रृंखलाअन्तर्गत स्कटल्याण्डले विश्वकप लिग–२ का अन्तिम ४ खेल नेपालमा खेल्दै छ।
स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा उक्लिने योजनाका साथ खेल्नेछ।
श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेलेर ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नेछ।
नेपालले दोस्रो खेल स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा फेरि खेल्नेछ।
थाहा खबरबाट साभार










