बागलुङ : अत्यधिक चिसो बढेपछि बागलुङको पश्चिम ढोरपाटन उपत्यका क्षेत्रका विद्यालयको पठनपाठन बन्द गरिएको छ। ढोरपाटन नगरपालिका–९ बोवाङका पाँच विद्यालयहरू एक महिनाको लागि बन्द भएका छन्।
चिसोका कारण बालबालिका विद्यालय आउन नसक्ने, आए पनि पठनपाठनमा ध्यान नदिने, लामो समय विद्यालयमा बस्नै नसक्ने अवस्था भएपछि विद्यालय बन्द गरेको ज्योति विकास आधारभूत विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए। ढोरपाटन उपत्यका विद्यालयले असार साउन महिनामा हुने बर्खे बिदा गर्दैनन्।
बर्खे बिदा नलिने विद्यालयले चिसो बढेपछि हिउँदे बिदा लिने ढोरपाटन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानकारी दिए। ढोरपाटनको ज्योति विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि र सिद्धथान प्राविले फागुन १ गतेसम्म पठनपाठन बन्द गरेका छन्।
हिउँदे बिदा लामो हुने हुँदा बर्खामा नियमित, दसैंमा एक हप्ता र तिहारमा पाँच दिन मात्रै विद्यालय बन्द गरिएको थियो। ढोर क्षेत्रकै जनवादी घुम्ती विद्यालयले बोवाङमा नियमित पठनपाठन गरेको छ। गर्मी मौससमा उपत्यका क्षेत्र र जाडो मौसममा बोवाङमा कक्षा सञ्चालन हुन्छ। जहाँ भए पनि पठनपाठन क्रियाकलापमा विद्यार्थीलाई नियमित जोड्नका लागि एक महिनालाई पुग्ने गरी गृहकार्य तथा अन्य नमुना अभ्यासको काम दिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिए।
विद्यालय बन्द भएपछि चिसो छल्न ढोरपाटन क्षेत्रका विद्यार्थीहरू अधिकारीचौर, बोवाङ, बुर्तिवाङतिर (बेंसी) झरेको प्रधानाध्यापक अदैले बताए।