बागलुङ, ३ पौष । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले १३ औँ साधारण सभाको अवसरमा शनिबार आठ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङद्वारा प्रदान गरिने गरि विभिन्न व्यक्तिले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट छ जनालाई समाचारबाट र दुई जनालाई स्तम्भ लेखनबाट पुरस्कृत गरिएको हो ।
कार्यक्रममा नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार चन्द्र गणेश पौडेल, नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७८ बाट राष्ट्रिय समाचार समिति राससका प्रधानसम्पादक एकराज पाठक, नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार भाषा शर्मा पुरस्कृत हुनुभएको छ ।
पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम र उहाँको परिवारले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको थियो । सुरुवातमा धौलागिरी अञ्चलमा पत्रकारीता गरिरहेका जेष्ठता र क्रियाशिलताको आधारमा वितरण गरिदै आएको उक्त पुरस्कार यस वर्षदेखि बागलुङ जिल्लामा जन्मेर देशको जुनसुकै स्थानमा रहेका जेष्ठता र क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिन सुरु गरिएको संस्थापक गौतमले बताउनुभयो । उहाँले लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न आमाबुबाको सम्झनामा पुरस्कार स्थापना गरेको बताउनुभयो ।
यस्तै हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार राम थापा ‘अविरल’ र स्तम्भकार सरोज राज पन्त तथा २०७८ बाट पत्रकार सिर्जना पन्त र स्तम्भकार संजनकुमार सिंह पुरस्कृत हुनुभएको छ ।
बागलुङका व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफनो बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालमा पुरस्कारको स्थापना गर्नुभएको पुरस्कार प्रत्यक वर्ष समाचार लेखन र स्तम्भ लेखनबाट एक÷एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । कोषबाट पुरस्कार वितरण सहित पत्रकारिता तालिम दिने उद्देश्य राखिएको कोषका संस्थापक एवं संरक्षण सदस्य मनोविज्ञान श्रेष्ठले बताउनुभयो ।
यस्तै टिका धन खोज पत्रकारिता पुरस्कारबाट पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत हुनुभएको छ । पुरस्कृतहरुलाई गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कृतहरुको बारेमा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्यले जानकारी गराउनुभएको थियो ।
साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री कँडेलले पत्रकारहरुले सरकारलाई सजक गराई राख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार राज्यको चौथो अंग भएकोले सरकार र जनता बीचको पुलको काम गरिरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमु्ख अमर थापा, जैमिनी नगरपालिका नगर प्रमुख नरबहादुर पुन, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, नेपाल प्रेस युनियनको महासचिवमा दिलिप पौडेल,नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार मुकेशचन्द्र राजभण्डारी र पुरस्कृत पत्रकार भाषा शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना र कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो ।










