बाग्लुङ, ४ मङसिर । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
विहान ७ बजे शान्तीपूर्ण रुपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए । उनले हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समुह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको बताए । ‘अहिले मतदान स्थगित भएको छ,’ मतदान अधिकृत ढकालले भने,‘अहिले बुध प्रहरीको नियन्त्रणमा छ । हामी पनि मतदान भित्रै छौं । मत च्यात्नेहरु मतदानस्थल बाहिर छन् ।’ मतपत्र च्यात्ने कुन पार्टी र समुहको हो भन्ने थाहा नभएको मतदान अधिकृत ढकालले बताए ।
मतदान अधिकृत ढकालले कति मतपत्र च्यातिएको भन्ने एकिन हुन नसकेको बताए । उनले हल्ला भएजस्तो हस्ताक्षर विनाको मतपत्र नरहेको बताउँदै पुनः मतदान सुरु गर्नको लागि सर्वदलिय बैठक बस्ने तयारीमा रहेको बताए । मतदान अधिकृत ढकालले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रहेको र उहाँहरुको सल्लाह बमोजिम अगाडी बढ्ने बताए ।
१ हजार ९ सय ४९ मतदाता रहेको सर्कुवामा दिउँसो २ बजेसम्म ७ सय १० मत खसेको छ ।