काठमाडौं, २९ असार । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन ।
शानदार बलिङ प्रदर्शन गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आरिफ शेखले अर्धसतकीय पाली खेल्दै ७१ रन बनाए । कुशल भुर्तेलले २७ र रोहित पौडेलले अविजित रहँदै ३४ रन जोडे । नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेको थियो । त्यसपछि दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्यो । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले चौथो अर्धसतक बनाएका हुन् । आसिफले ६३ बलमा एक छक्का र १० चौका प्रहार गरे। देव खनाल ४, दिपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख एक रन जोडेर आउट भए ।
त्यसअघि टस जितेर पहिला बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई ४२ ओभर ५ बलमा एक सय ४४ रनमा अलआउट गरेको हो । स्कटल्यान्डलाई सस्तोमा समेट्न आदिल आलम र सोमपाल कामीले तीन तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र करन केसीले एक एक विकेट हात पारे ।
४ रन जोड्दा पहिलो विकेट गुमाएको स्कटल्यान्ड त्यसपछि ३३-५ को कमजोर अवस्थामा पुगेको थियो। स्कटल्यान्डले सातौँ विकेटका लागि १९ , आठौँ विकेटका लागि १४ , नवौँ विकेटका लागि १६ र १० औँ विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो ।
घरेलु टोलीका तल्लोक्रमका गाभिन मैनले सर्वाधिक ६४ रन जोडे । उनी नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए । मध्यक्रमका मार्क वाटले सर्वाधिक १७ रन जोडे । अनुभवी कायल कोएट्जर ४, विकेटकिपर मार्क क्रस २, कप्तान रिची बेरिङ्टन ३ र जर्ज मुन्सी ४ रन जोडेर आउट भए । स्कटल्यान्डको शीर्ष ६ ब्याट्सम्यानमध्ये क्यालम म्याकलियोडले मात्र १३ रनसहित दोहोरो अंकमा रन जोड्न सके। सोमपालले १० ओभरमा ४० र आदिलले १० ओभरमा ३१ रन खर्चिएका थिए । सन्दीपले १० ओभरमा ३५ रन दिए । स्कटल्यान्डका शीर्ष ४ मध्ये तीन ब्याट्सम्यानलाई सोमपालले आउट गरेका थिए ।
जितसँगै नेपाल १८ खेलबाट १७ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ । स्कटल्यान्ड २२ खेलबाट ३० अंक जोडेर दोस्रोमा छ । नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको हार ब्यहोरेको थियोभने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।
नेपालले अब तेस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ । शृंखलाको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २२ खेलमा १४ मा जित र ६ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।










