Skip to content

follow us

baglungkhabar.tv

29th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘असारे’को सुरसारमा तरामीमगर

  • २० असार २०७९, सोमबार ०९:०५

राम बहादुर थापा ‘अविरल’
बागलुङ, २० असार । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेला लाग्छ । ‘असारे’ तरामीमगरको पुस्तैनी मेला हो । कोरोना महाव्याधिले दुई वर्षसम्म रोकेको परम्परागत मेला यसपाली हुँदैछ । ताराखोलाका रैथाने मगर ‘असारे’ मनाउने सुरसारमा छन् । असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रुपमा लिइन्छ ।

नयाँपुस्ताले ‘असारे मेला’ का रुपमा संस्कृति धाने पनि जनबोलीमा भने ‘असारे’ प्रचलित छ । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको बूढापाका बताउँछन् । आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीले डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेको बताउनुभयो । “असारको उजेली पक्ष पारेर मेला सुरु हुन्छ”, उहाँले भन्नुभयो, “पूजाआजा गर्ने, बलि चढाउने पनि परम्परा छ ।” अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मङ्गलबार बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन रहेको उहाँले सुनाउनुभयो ।

असारेलाई साँचेर तरामीमगरको कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ । गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षात्मा बाढीपहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पुजिन्छ । मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बलि दिने गरिएको घर्तीले बताउनुभयो ।

“पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बलि चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ”, उहाँले भन्नुभयो । विसं १७६६/६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेषरुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरे पनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् । बर्खे झरीकोसमेत पर्वाह नगरी हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् । ३०० वर्षअघिदेखि असारेको थिति बसेको बूढापाका बताउँछन् । असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले क्लबले असारेको परम्परा धान्दै आएको उल्लेख गर्नुभयो । “कोरोना महामारीले गर्दा दुई वर्षसम्म रीतिथितिअनुसार पूजापाठ र वाचा बाँध्ने मात्र काम भयो”, उहाँले भन्नुभयो, “यो वर्षदेखि असारे मेलाले पुनःनिरन्तरता पाउँदैछ ।”

असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको उहाँको भनाइ छ । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ । मेलामा पुरुष/महिला भलिबल, सामूहिक नृत्य, रस्साकस्सी, धनुषवाण, भाले छुनेलगायतका प्रतियोगिता राखिएको छ । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ । मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत मेलालाई लिइन्छ ।

पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् । ताराखोलाको अर्गल, हिल, अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको छ । पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले मेलापर्वको चलन बसालेका हुन् । राघे, माघेसङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई पनि ताराखोलाका मगरले विशेषरुपमा मान्छन् । भदौरे सिस्नो खोस्ने र भुस पोल्ने त्यहाँका ठूला पर्व हुन् । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki