Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

  • रासस
  • ८ जेष्ठ २०७९, आईतवार १४:२३

बागलुङ, ८ जेठ । महामारी थामिएर स्थिति सहज बनेपछि यहाँको सती घाटुले पुनः निरन्तरता पाएको छ । कोरोनाको जोखिमले दुई वर्षसम्म घाटुको परम्परा रोकिएको थियो । घाटु नाचलाई तीन वर्षपछि जगाइएको घाटु संरक्षण समितिका संयोजक गिरीप्रसाद थापाले बताए । गलकोट नगरपालिका–१० पाण्डवखानीमा सती घाटु प्रचलित छ ।

बर्सेनि वैशाख कृष्ण औँसीमा सुरु हुने घाटु जेठको तेस्रो साता विर्सजन हुन्छ । “बुद्ध पूर्णिमाका दिन विशेष रुपमा घाटु चल्यो, अब यही जेठ २० गते फेरि घाटु देखाइन्छ, २१ गते विधिवत अन्त्य हुन्छ”, संयोजक थापाले भने । पहिले पहिलेझैँ भव्यता दिन नसकिए पनि जेनतेन घाटुको संस्कृति धानिएको उनको भनाइ छ । यसपालिको सती घाटुमा बिना पुन, स्नेहा पुन, धनमाया घर्ती र सृष्टि बस्नेत घाटुनीका रुपमा छन् । घाटु नाच्नेलाई घाटुनी भनिन्छ ।

“जो कोहीलाई घाटु उत्रन्न, अहिलेका घाटुनी सबै नयाँ हुन्”, संयोजक थापाले भने, “राजाको वियोगमा रानी सती गएको कथालाई गीतिलयमा ढालेर रानीको प्रतिकको रुपमा घाटुनीहरू नृत्य गर्छन् ।”

घाटु नाच देखाउनुपूर्व घाटुका गुरुहरूको सम्झनामा पूजाआजा गर्ने चलन छ । वर्षभरिमा कसैलाई दुःखकष्ट नपरोस्, बाटोमा हिँड्दा ठेस नलागोस्, सबैको भलो होस् भनेर कामना गरिन्छ । घाटुका गुरुबासमेत रहेका थापाका अनुसार औंसीबाट सुरु हुने भएपनि पूर्णिमाका दिन विशेष रूपमा घाटु देखाउने परम्परा छ ।

सोही अवसरमा पाण्डवखानीमा लाग्ने वैशाखे पूर्णिमा मेलाको मुख्य आकर्षण पनि सती घाटु हुने गर्छ । योपटक भने स्थानीय तह चुनाव परेकाले मेला हुन सकेन । मेला नचलेपनि घाटु नाचले गाउँमा रौनक ल्याएको घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका सहसचिव सुरेश छन्त्यालले बताए ।

मञ्च पनि घाटुको संरक्षण र जगेर्नामा सक्रिय छ । बर्सेनि माघमा फुक्ने (सुरु हुने) भए पनि वैशाख कृष्ण औँसीदेखि मात्र पाण्डवखानीमा घाटु देखाइन्छ । जेठ अन्तिम साता समापन गरेपछि माघसम्म घाटु नचाउन मिल्दैन ।

तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनकथामा आधारित सती घाटु गीतिनाटकको शैलीमा प्रस्तुत गर्ने गरिन्छ । युद्धमा राजाको वीरगतिपछि रानीहरुको बिनौला गीत र नृत्यमार्फत घाटुमा अभिव्यक्त हुने गर्छ ।

गीतकै सुरमा घाटुनीहरुको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीत गाउँछन् । घाटुनीहरु गीतको सुरमा लठ्ठिएर नाच्छन् । बिहान सुरु भएको घाटु मध्यरातपछि मात्र पूरा हुन्छ । नृत्यकै क्रममा आँखा पुरै बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको जनविश्वास छ ।

सती घाटुमा कथा अनुसार अइरा, सतीलगायत विभिन्न खण्डहरू हुने संयोजक थापाले बताए । अइरा खण्डमा रोपाइँ र ढ्याङ्ग्रो नाच देखाउने गरिन्छ । “सती खण्डमा घाटुनीहरू मुर्छित भएर ढल्छन्, जुन क्षण एकदम कारुणिक हुन्छ”, संयोजक थापाले भने ।

भगवान् शिवजीले जोगीको भेषमा राजासँग निहुँ खोजेपछि रानी मुर्छित भएर ढलेको कथा सती घाटुमा छ । घाटुनीहरू गीतबाटै ढल्ने र गीतबाटै उठ्ने हुँदा सती घाटुमा अदृश्य शक्ति रहेको विश्वास गरिन्छ ।

घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनि सँगै लिएर गएको गाउँका अगुवा बताउँछन् । पाण्डवखानीसँगै छिमेकी गाउँ रिघा, सिसाखानीलगायत मगर समुदाय भएका ठाउँमा सती घाटुको प्रचलन छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki