२६ भदौ, रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जिल्लामा प्रहरीसहित सर्वसाधारण गरी ४१ जनाको संकलित स्वाबको पीसीआर परीक्षण गरिएकोमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख डिएसपी, २ जना प्रहरी निरीक्षकसहित २० जना प्रहरी र ८ जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित प्रहरीलाई चन्द्रनिगाहपुरमा रहेको आइसोलेसन र होम आइसोलेसनमा राखिने जनाइएको छ । प्रहरी ब्यारेक र कार्यालयमै कोरोना भाइरसको संक्रमण फैलिएपछि सो कार्यालयमा कार्यरत अन्य प्रहरीहरूको पनि कन्ट्याक ट्रेसिङ्गको आधारमा स्वाब परीक्षण गरिने जनाइएको छ ।
चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरीसहित स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । यसअघि इलाका प्रहरी कार्यालय गरुडाका थुनुवालाई समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।