धौलागिरी प्रादेशिक अस्पताल बागलुङको विशेष रिपोर्ट, नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एन्.एच.आर.सी) २०८० को प्रतिवेदनले बागलुङ जिल्लालाई आत्महत्याको दरमा देशकै उच्च स्थानमा देखाएको छ । यो तथ्याङ्क आफैंमा चिन्ताजनक भएपनि यसै तथ्यभित्र एउटा महत्वपूर्ण सन्देश भने लुकेको छ, त्यो भनेको आत्महत्यालाई रोक्न सकिन्छ भन्ने हो । एन्.एच.आर.सी कै प्रतिवेदन अनुसार ८५ प्रतिशतभन्दा बढी आत्महत्याका घटनामा पहिले नै चेतावनी संकेत देखिएका हुन्छन्, जसलाई समयमै पहिचान र हस्तक्षेप गरे जीवन बचाउन सकिन्छ । आत्महत्या व्यक्तिगत कमजोरी होइन, उपचार योग्य समस्या हो ।
धौलागिरी प्रादेशिक अस्पताल बागलुङका डा. सन्दिप के.सी. भन्छन् “आत्महत्या कुनै एक व्यक्तिको कमजोरी होइन । यो जैविक, मानसिक, सामाजिक र आर्थिक कारणले उत्पन्न हुने गम्भीर तर उपचारयोग्य समस्या हो ।”
बागलुङमा आत्महत्याका घटनाहरु उच्च रुपमा देखिनुका पछाडि निम्न कारणहरु रहेको पाइन्छ —
१. दीर्घकालीन डिप्रेसन र चिन्ता
२. आर्थिक असुरक्षा
३. पारिवारिक कलह
४. सामाजिक एक्लोपन
५. मानसिक स्वास्थ्य सेवाको सीमित पहुँच मुख्य कारणका रूपमा देखिएका छन् ।
अँध्यारोबाट उज्यालोतर्फ सुमनको जीवनले दिएको आशा
४८ वर्षीय सुमन (नाम परिवर्तन) को कथा बागलुङमा आशाको प्रतीक बनेको छ । दीर्घकालीन डिप्रेसन, आर्थिक तनाव र पारिवारिक विवादका कारण उनले आत्महत्या गर्ने निर्णय गरिसकेका थिए । अन्तिम क्षणमा उनकी पत्नीको सचेतनाले जीवन बचायो । पत्नीले बागलुङ नगरपालिकाका उपमेयर श्री राजु खड्कालाई सम्पर्क गरिन् । उपमेयर खड्काको तत्काल पहलमा धौलागिरी प्रादेशिक अस्पतालको (ओसिएमसी) टोली सक्रिय भयो । डा. सन्दिप के.सी.लगायत राजु सरको नेतृत्वको टोली घटनास्थलमै पुगेर तत्काल संकट परामर्श सुरु गरियो । त्यसपछि ६ महिनाको नियमित संज्ञानात्मक व्यवहार थेरापी, पारिवारिक परामर्श तथा निरन्तर सामाजिक साथपछि आज सुमन सानो व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर जीवन बाँचिरहेका छन् ।
सुमन भन्छन्, “त्यो दिन मैले मेरो अन्त्य सोचेको थिएँ । आज त्यही दुःखका कारण म अरूको आशा बनेको छु । दुःख स्थायी हुँदैन ।”
अर्को उदाहरण, विजय – पीडितबाट प्रेरकसम्म
२२ वर्षीय विजय (नाम परिवर्तन) ले आत्महत्या गर्ने तयारी गरिसकेका थिए । उनले अन्तिम समयमा धौलागिरी अस्पताललाई सम्पर्क गरे । डा. प्रभात र डा. सन्दिप के.सी. को टोलीले जिल्ला प्रहरीको सहकार्यमा उनलाई तत्काल सुरक्षित गर्दै उपचारमा समावेश गर्यो । नियमित काउन्सेलिङ र मनोचिकित्सकको प्रत्यक्ष परामर्शपछि विजय आज मानसिक रूपमा स्वस्थ छन् । नियमित काम गर्दैछन् । आज उनले मनोविज्ञान अध्ययन गरी अन्य युवालाई सहयोग गरिरहेका छन् ।
डा. सन्दिप भन्छन्, “जीवन बचाउनु मात्र पर्याप्त छैन, पुनःउत्थान नै हाम्रो लक्ष्य हो।” समुदाय नै समाधान खुसी मन संस्थाको पहल बागलुङ नगरपालिकाको सहकार्यमा खुसी मन संस्थाले “एक गाउँ, एक परामर्शदाता” अभियान सञ्चालन गरिरहेको छ । हालसम्म २० जना युवालाई आधारभूत मनोसामाजिक परामर्श तालिम, गाउँ–गाउँमा मानसिक स्वास्थ्य शिविर, सहकर्मी समर्थन नेटवर्क, सुसाइड सर्भाइभर सपोर्ट ग्रुप गठनको तयारी संस्थाका अध्यक्ष नारायण भन्छन्, “हामीले बुझेका छौं—समस्या ठूलो छ, तर समाधान हामी नै हौं।”
धौलागिरी प्रादेशिक अस्पतालको आगामी योजना अस्पताल प्रमुख डा. किरण का अनुसार छिट्टै परामर्शदाता मनोचिकित्सक सेवा सुरु, संकट हस्तक्षेप इकाई सुदृढ, सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।
डा. सन्दिप के.सी. स्पष्ट पार्छन्, “हामी सेवाको अभावमा छौं, तर संकल्पको अभाव छैन । २०८२ सम्म बागलुङमा पूर्ण मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौं।” सामाजिक सञ्जाल र मिडियाको पनि जिम्मेवारी रहने गर्दछ ।
डब्लु.एच.ओ का अनुसार, आत्महत्याबारे गलत र सनसनीपूर्ण रिपोर्टिङले नकारात्मक प्रभाव पार्न सक्छ । तर सकारात्मक सन्देशले आशा फैलाउन सक्छ । जसलाई विशेषज्ञहरूले आशा संक्रमण भन्छन् ।
आत्महत्याका घटनाहरु कम गर्न रिकभरी कथाहरू सेयर गर्ने, हेल्पलाइन र सेवाबारे जानकारी दिने, आशा र समाधान केन्द्रित भाषा प्रयोग गर्ने, आत्महत्याको विधि वा स्थान नखुलाउने, महत्वपूर्ण हेल्पलाइनहरू बारे जानकारी दिने (११६६–नेपाल प्रहरी, आत्महत्या रोकथाम हटलाइन २४ सै घण्टा खुला, स्वास्थ्य मन्त्रालय मानसिक स्वास्थ्य सेवा ११३३, प्रहरी १००, एम्बुलेन्स १०८, धौलागिरी प्रादेशिक अस्पताल (इमर्जेन्सी)स् ०६८–५२४१०४, बागलुङको २०८२ को सामूहिक संकल्प अनुसार प्रत्येक पालिकामा मानसिक स्वास्थ्य सल्लाहकार तथा सबै विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, युवा स्वयंसेवक नेटवर्क विस्तार, परिवार र बाँचेकाहरूको लागि सहयोग समूह गठन गरिएको छ । जसलाई सम्पर्क गर्न सकिनेछ ।
निष्कर्ष बागलुङ आज संकट मात्र होइन, समाधानको उदाहरण बन्ने दिशामा पनि अघि बढिरहेको छ । सुमन र विजयजस्ता कथाहरूले देखाउँछन्—आत्महत्या रोक्न सकिन्छ, जीवन पुनःनिर्माण गर्न सकिन्छ। “एक जनाको साथ, एक जनाको सुन्ने मन, र एक जनाको आशा—यही नै बागलुङको नयाँ कहानी ।”









