१ भदौ, काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सबै उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ। विदेशमा कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार स्थगित गर्न सिसिएमसीले दूतावासहरुलाई पत्राचारसमेत गरिसकेको छ।
नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सिसिएमसीले उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

सोमबारबाट मात्र सिसिएमसीले पाचौं चरणको उद्धार उडान तय गरेको थियो। सो अनुसार सोमबार पनि केही यात्रु नेपाल आएका छन् भने टर्किस एयरलाइन्सको एक जहाज नेपालका लागि उडिसकेको तर आइ नपुगेको अवस्थामा छ। यो जहाज आएपछि सबै उडान रद्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ।










