काठमाण्डौ, ८ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । ८ खेलाडी आउट भएको अवस्थामा रोहित र करणले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गरे ।

स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १।१ विकेट लिएका थिए ।
नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।
लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो । योसँगै नेपालले शृङ्खलामा क्लिन स्वीप गरेको छ । यो जितसँगै नेपाल २८ खेलमा २६ अङ्कसहित छैटौँ स्थानमा छ । ३६ खेलमा ५० अङ्क रहेको स्कटल्यान्ड लिग–२ को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले आजै लिग–२ च्याम्पियनको ट्रफी पाउनेछ ।
लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमन दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् ।









