काठमाडौं, ८ फागुन । त्रिदेशीय एकदिवसी शृंखलाको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल तयार गरेको हो।
नेपालको कसिलो बलिङसामू संघर्ष गरेको स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेपनि ठूलो योगफल भने बनाउन सकेन।स्कटल्यान्डका लागि मन्जीले ९ चौका र दुई छक्कासहित ६० रन, ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए।
यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो ।
जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा रहेको छ।









