काठमार्डौं, २ मङ्सिर। ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।

जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

जितका लागि यूएईले दिएको एक सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन बनाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अविजित ८८ रन बनाएका थिए । एक सय १९ बलको सामना गरेका शेखले १२ चौकाको सहयोगमा अर्धशतकीय पारी खेलेका थिए । आशिफ ‘प्लेयर अफ दि म्याच’ भएका थिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ७३ बलमा सात चौका र तीन छक्काको सहयोगमा ६४ रन, कप्तान रोहित पौडेलले १० रन बनाएका थिए भने ओपनर अर्जुन साउद नौ रनमा आउट भएका थिए । बलिङमा यूएईका हाजार्ट विलाल र आयान अफ्जल खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाए । १७ वर्षीय अलराउन्डर आयान ‘प्लेयर अफ दि सिरिज’ बनेका थिए । उनले ५० हजार रुपियाँ पुरस्कार पाएका थिए । ।

यस्तै आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाएका थिए । बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका थिए ।










