Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बास पुरियो, वृद्ध जोडीको बिचल्ली

bk logo final png
  • BAGLUNGKHABAR
  • ३१ भाद्र २०७९, शुक्रबार १०:०७
बागलुङ, ३१ भदौ । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिए, ढालानाथ ।

बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उनलाई यो घर छोड्न पटक्कै मन छैन । तर ज्यान नै जोखिममा राखेर घर कुर्न उनले सकेनन् ।

सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो । बुढ्यौलीमै भए पनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो ।

‘बैँशमा बा–आमा कुरेर बसेँ, छोराछोरी हुर्काएँ, अहिले बा–आमाले छाडेर गए, छोराछोरी आफ्नै बाटो लागे, बूढाबूढीका लागि घामपानी ओत्न बनाएको बासमा दैव लाग्यो बाबु’, पर्खालको छेउमा बसेर पहिराले अँठ्याउनै लागेको घर देखाउँदै पौडेलले भने, ‘मेरो पसिना यहीँ थियो बाबु, कान्छा छोराले सहयोग गरेर बनाएको बास हो, पहिरोले नासियो ।’

केही दिनयता उनी ७० वर्षीया श्रीमतीसहित आफ्नो घरभन्दा केही तल छिमेकीको घरमा बस्दै आएका छन् । उनको मनले घर छाड्न मानिरहेको छैन । त्यसैले त दिनमै दश पटक त्यही घरको आँगनमा पुग्छन् ।

भदौ २० गतेदेखि तल्लो रामतोलाको उपल्लो भेग चर्किन थालेको थियो । पाखोबारी, घर, गोठ, सडक र चौतारी जताततै जमिन चर्किने र स–साना पहिरा खस्ने गर्न थालेपछि ढालानाथको मन चर्किएको थियो । भदौ २१ गते गाउँमाथिबाट ठूलै पहिरो जान थालेपछि गाउँमा कोलाहाल मच्चियो । ढालनाथ गोठमा भैँसी दुहुँदै थिए ।

घरजस्तै थियो गोठ पनि । गाउँभरि धाँजा फाटेपछि सम्भावित जोखिमको आकलन गरेर गाउँ पुग्नुभएका वडाध्यक्ष ज्ञानेन्द्र गौतमलगायत गाउँका समाजसेवीले उनलाई भैँसी दुहुँदादुहुँदै तानेर ल्याए । भैँसी फुकाए र सुरक्षित ठाउँमा पुर्‍याए ।

‘उनीहरुले नतानेको भए म गोठमै पुरिने रहेछु, भैँसी बाँच्यो’, पहिराले पुरिएको गोठ देखाउँदै उनले भने, ‘घर न गोठ, खेती न पाती भयो ।’ पहिराले नजिकै रहेको पाखोबारी र खरबारी सबै पुरेको छ ।

पत्थर माथिको समथर जमिनमा कहिल्यै यस्तो पहिराको जोखिम होला भनेर आफूले कल्पना नगरेको उनी सुनाउँछन् ।’मैले जानेदेखि यहाँ ठूलो पहिरो खसेको देखेको थिइनँ, अहिले त के भएको हो, गाउँ नै उठाउने पहिरो आयो ।’

पहिराबाट विस्थापित भएकामध्ये ढालानथको दम्पती सबैभन्दा धेरै समस्यामा छ । गाउँमा उहाँजस्तै सात परिवारले आफ्नो घरगोठ छाडेका छन् । तल्लो रामतोलामा नै पहिरो खसेकोभन्दा केही तल बसाइँसराइ गरेर गएकाहरुको खाली घरमा पीडित परिवार बसेका छन् ।

भदौ २२ गते गाउँमाथि रहेका पानीका ट्याङ्कीसहित ठूलो पहिरो खस्यो । तल्लो रामतोला गाउँमाथिको समथर बारीमा अड्एिको पहिराको माटोले रामतोलाका घर पस्ने जोखाना हेरिरहेको छ । ‘ठूलो आवाज आयो, अब बाँचिएन भन्ने लागेको थियो’, स्थानीय पीडित पवित्रा केसीले भने, ‘दिउँसै भएकाले भागाभाग गरियो, रातमा पहिरो खसेको भए त होसहवास उड्ने थियो ।’

घर छाडेर अर्कैको घरमा बसेको भए पनि आफ्नो थातथलोमा गइरहन मन लाग्ने पवित्राले सुनाए । ‘अहिले ठूलो पानी परेको छैन, ठूलो पानी पर्‍यो भने हाम्रा घर राख्दैन होला’, उनले भने, ‘हामी पीडित भयौँ, कहीँकतै सुरक्षित ठाउँमा व्यवस्था गरिदिए हुने ।’

यहाँ खसेको पहिराका कारण रायडाँडामा सात परिवार र जैमिनी नगरपालिकाको वडा नं १ कुश्मीशेरा, वडारमा चार परिवार विस्थापित भइसकेका छन् । विद्युत्, खानेपानीको आपूर्तिमा आएको अवरोध भने हटाइएको छ ।

बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य वस्तुको रूपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । घटनाका बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ ।

घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । किसानको बारीका सुन्तलाका बिरुवा नष्ट भएका छन् । कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिराले जोखिम भएपछि गाउँलेहरू त्रसित छन् ।

‘पहिरो खस्नुको कारणका विषयमा खोजी र पीडितको उचित व्यवस्थापनका लागि हामीले अध्ययन गरिरहेका छौँ’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, ‘थप क्षति हुन नदिनका लागि सजगता अपनाउन जरुरी देखिन्छ ।’ रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki