पर्वत, १२ असोज । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाडेको छ । निरन्तरको वर्षापछि आज बिहान आएको बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन्भने २५ घर उच्च जोखिममा परेको छन् ।
फर्सेको पुरानो बजारका अधिकांश कच्ची घर बाढीले बगाएको छभने बचेका घर पनि बस्न मिल्ने अवस्थामा नरहेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । उहाँका बाढीले नदीकिनारको बस्ती नै उजाडेको छभने बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताउनुभयो ।
बाढीले घर बगाएपछि विस्थापित बनेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितमध्ये केही परिवारलाई नजिकका आफन्त कहाँ आश्रयको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलले बाढीबाट विस्थापित परिवारका लागि तत्काललाई ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो । सोमबारदेखि राहत तथा पुनःस्थापनाको काम सुरु हुने उहाँको भनाइ छ ।
बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । पोखरा–बागलुङ हुँदै मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको उहाँले बताउनुभयो । सडक कटान भएपछि उक्त खण्ड हुँदै पोखरा जाने यातायातका साधन सञ्चालन हुनसकेका छैनन् ।
नजिकैको लस्ती बजार पनि बाढीले जोखिममा परेको गाउँपालिकाले जनाएको छ । बाढीको कटानबाट खेत, सडक, पुल, खानेपानी आदिमा क्षति पुगेको छ । पर्वतमा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।







