बागलुङ, १० वैशाख। बागलुङका सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
मू जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा सडक निर्माणसँग सम्बन्धित कार्यालय प्रमुख, राजनीतिक दल तथा अन्य सरोकारवालाबीच भएको बैठकमा ल्यवृद्धि र पेट्रोलियम पदार्थको अभावलाई कारण देखाउँदै निर्माण कार्य रोक्न नहुने सरोकारवालाहरूले धारणा राखेका थिए ।
बैठकमा सहभागीहरूले सम्झौता भइसकेका योजनामा कुनै पनि बहाना देखाएर ढिलासुस्ती गर्न नहुनेमा भन्दै जिल्लामा सञ्चालनमा रहेका सडक निर्माण योजनाहरू समयमै सम्पन्न गर्नुपर्नेमा उनीहरूको माग रहेको थियो।
छलफलका क्रममा राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीले योजना सम्झौता गर्दा तय भएको मूल्य सम्पन्न हुने बेलासम्म उहीँ रहनु अनिवार्य नहुने बताए। उनले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीका बहानाबाजिलाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै यस्तो प्रवृत्तिले जनतामाथि अन्याय हुने बताए । उनले तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनीसँग कुनै पनि हालतमा सम्झौता नवीकरण गर्न नहुनेमा जोड दिए ।
आरसिआइपि कन्सल्टेन राजेन्द्र भण्डारीले काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोड्न कानुनी तथा नीतिगत समस्या रहेको बताएका छन्। उनले समयमा काम नगर्ने ठेकेदारलाई प्रभावकारी रूपमा कारबाही गर्न सक्ने स्पष्ट नीति निर्माण भए मात्र सडक निर्माण योजना समयमा सम्पन्न गर्न सहज हुने धारणा राखे।
बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले कार्यालय प्रमुखहरूको बारम्बार हुने सरुवालाई योजना कार्यान्वयनमा प्रमुख समस्या रहेको बताए। उनका अनुसार छोटो–छोटो अवधिमा प्रमुखहरूको सरुवा हुँदा योजनाको निरन्तरतामा प्रत्यक्ष असर पर्ने गरेको छ । बागलुङ नगरपालिकाभित्र वल्र्ड बैंकको सहयोगमा १२।५ किलोमिटर सडक कालोपत्रे गरिएको उल्लेख गर्दै मेयर श्रेष्ठले काम गर्ने इच्छाशक्ति र प्रतिबद्धता भएमा जस्तो सुकै समस्याका बाबजुत पनि समयमा नै काम सम्पन्न गर्न सकिने उदाहरण प्रस्तुत गरे
कार्यक्रममा सहभागी राजनीतिक दलहरूले सम्बन्धित कार्यालयहरू पर्याप्त जिम्मेवार नहुँदा योजनाहरू समयमा सम्पन्न हुन नसकेको बताएका छन्। साथै, निर्माण सम्पन्न भएपछि सडक मर्मतसम्भार पनि प्रमुख समस्याका रूपमा देखिएको उल्लेख गरिएको छ।
सडक निर्माणपछि यसको जिम्मेवारी कसले लिने भन्ने विषय स्पष्ट नहुँदा मर्मतसम्भारमा अन्योल देखिएको र त्यसकै कारण सडक छिट्टै बिग्रिने अवस्था आएको सहभागीहरूले बताएका छन्। यसले दीर्घकालीन रूपमा पूर्वाधारको गुणस्तरमा समेत असर पारिरहेको उनीहरूको भनाइ छ।
प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यको संयोजकत्वमा भएको छलफलमा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ र जैमिनि नगरपालिकाका उपप्रमुख हरिहर शर्माको विषेश उपस्थिति रहेको थियो ।









