अर्जुन कार्की/सुजन रेग्मी
बागलुङ, १८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु प्रतिबद्धता पत्र सार्वजनिक गरेर मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले विभिन्न एजेण्डा र प्रतिबद्धता पत्र सहित भोट मागी रहेका हुन् ।
बागलुङ क्षेत्र नं. १ मा एमालेका उम्मेदवार हिरा बहादुर के.सी., नेपाली काँग्रेसका उम्मेदवार भीम श्रीस, राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कल्याण विक्रम आचार्यले प्रतिबद्धतापत्र तथा आगामी पाँच वर्षका चुनावी एजेण्डाहरु सार्वजनिक नै गरेर मत मागिरहेका छन् । उम्मेदवारहरुले विभिन्न एजेण्डा सुनाउँदै घरदैलो र सभा लगायतका कार्यक्रम गरि भोट मागिरहेका छन् ।
राजनीतिक दलले केन्द्रमा प्रतिबद्धता तथा घोषणपत्र सार्वजनिक गरेपनि उम्मेदवारहरुले जिल्ला तहका प्राथकिमताहरु समेटिएको छुट्टै प्रतिबद्धताहरु सार्वजनिक गरेर मत मागिरहेका छन् ।
एमालेका केसीको प्रतिबद्धताः बागलुङ नगरमा सिटी हल र पालिकाहरुमा सामुदायिक भवन निर्माण
नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीले पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य तथा रोजगारी, कृषि आधुनिकीकरण, उद्योग–व्यवसाय, पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, सहकारी र सुशासनलाई प्रतिबद्धतापत्रमा मुख्य प्राथमिकतामा राख्नुभएको छ । आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बागलुङ नगरमा सिटी हल, जिल्लामा एक हजार जना अट्ने सभाहल र बाङ्गेचौर खेलमैदानलाई रंगशाला निर्माण गर्ने योजना प्रस्तुत गर्नुभएको छ ।
केसीले प्रत्येक गाउँपालिका र नगरपालिकामा पाँच सय जना अट्ने सामुदायिक भवन निर्माण गर्ने, गाउँपालिका र नगरपालिकामा एक एक वटा बरुणयन्त्र संचालन गर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगतका क्षेत्रहरुमा प्रशस्त तरकारी तथा फुलफुल उत्पादान गरि बजार व्यवस्थापनमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै शिक्षा तथा स्वास्थ्यतर्फ धवलागिरि बहुमुखी क्याम्पसलाई प्राविधिक विषयसहित विश्वविद्यालयमा रूपान्तरण गर्ने, हरेक पालिकामा कम्तीमा एक एक वटा सुविधासम्पन्न स्नातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गर्न पहल गर्ने र धौलागिरी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने योजना केसीले अघि सार्नुभएको छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा प्रत्येक गाउँपालिकामा शिशु स्याहार केन्द्र स्थापना गर्ने, कृषि क्षेत्रलाई व्यवसायिक र निर्यातमुखी बनाउने लक्ष्यसहित चक्लाबन्दी खेती प्रणाली लागू गर्ने, बाँदर नियन्त्रणका लागि विशेष नीति ल्याउने, कृषकलाई न्यूनतम मूल्यको ग्यारेन्टी दिलाउने तथा कोल्ड स्टोर निर्माण गरी उत्पादन राज्यले खरिद गर्ने व्यवस्था मिलाउने योजना सार्वजनिक गरिएको छ । मध्यपहाडी लोकमार्ग आसपास उद्योग स्थापना, लगानीमैत्री वातावरण सिर्जना र पर्यटन प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
देश बनाउन श्रम शक्ति देशमै परिचालित हुनुपर्ने बताउँदै केसीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, नागरिकको जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकता दिने तथा श्रम शक्तिलाई विदेश पठाउनेभन्दा स्वदेशमै परिचालन गर्ने नीति अवलम्बन गर्ने बताउनुभयो ।
सहकारी पीडितको बचत फिर्ताका लागि ग्यारेन्टी कोष स्थापना, दोषीलाई कारबाही, स्थानीय तहको सेवा प्रणाली पारदर्शी बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र आर्थिक अनियमितता नियन्त्रणका लागि प्रभावकारी अनुगमन प्रणाली निर्माण गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
उम्मेदवार केसीले कालीगण्डकी करिडोरलाई बागलुङ बजार हुँदै म्याग्दी जोड्ने प्रस्ताव राख्दै बागलुङ बजारलाई प्राचीन सभ्यता र कलाको झल्को दिने आधुनिक, प्रविधिमैत्री सहरका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभएको छ ।
काँग्रेसका श्रीसको ३७ प्रतिबद्धता
बागलुङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उम्मेदवार भीम श्रीसले ३७ प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । बागलुङ क्षेत्र नं. १ मा ३७ वडा रहेकोले श्रीसले मंगलबार ३७ वडा, ३७ सम्पदा र ३७ प्रतिबद्धता सार्वजनिक गरेको बताउनुभयो । उहाँले ‘सुधाछौं राज्यका संस्था–बदल्छौं नागरिकको अवस्था’ नाराका साथ संघ, प्रदेश र स्थानीय तहमा संरचनागत दोहोरोपनका कारण बढ्दो चालु र सेवा प्रवाहमा हुने झन्झट अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले धौलागिरी प्रादेशिक अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ डाक्टर, आधुनिक उपकरण, आईसियु, प्राप्त बेडर २४ घण्टा आकस्मिक सेवा सुनिश्चित गर्ने र एमडि अध्ययन अध्यापनका लागि पहल गर्ने र प्रदेश सरकारले स्वीकृत गरेको नर्सिङ अध्ययनलाई यथासीघ्र संचालनमा सहजीकरण गर्ने बताउनुभयो ।
उम्मेदवार श्रीसले गाँजाको औषधीय व्यावसायिक उत्पादन र स्थानीय मदिरालाई व्यावसायिक उत्पादन गरी नागरिकको आयआर्जन वृद्धिका लागि आवश्यक नीति तथा कानुन निर्माणमा अन्तरसरकार सहकार्य गर्न सहजीकरण गर्ने, संघीय शिक्षा ऐन मार्फत विद्यालय शिक्षा व्यवस्थित गर्ने, दलित समुदायले उत्पादन गरेको दुग्जन्य वस्तुको वजारीकरणमा भोगिरहेको सांस्कृतिक समस्या व्यवहारिक र कानुनी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै बागलुङको बाङ्गेचौर खेलमैदानलाई कालिका बहुउद्देश्यीय रङ्गशालाको रुपमा निर्माण गर्न पहल गर्ने बागलुङ बजारको सांस्कृतिक पुर्नजागरणअन्तरर्गत बागलुङको मौलिक सांस्कृतिक पहिचान पुर्नस्थापना गरी कालिका मन्दिरका भक्तजन तथा पर्यटकलाई बजारतर्फ आकर्षित गर्दै युवालाई सांस्कृतिक उद्यमशितासँग आवद्ध गर्ने ‘कालिका सर्किटः द व्युटिफिकेशन अफ बागलुङ बजार अन कालिका थिम’ परियोजना अघि सार्नुभएको छ ।
श्रीसले बागलुङका मौलिक सांस्कृतिकहरु विना सालैजो, मारुनी, सालैजो, झाम्रे, चट्का, पञ्चेबाजा, भजन र रत्यौलीको संरक्षण र प्रवर्दन गर्ने, सहकारी क्षेत्रमा देखिएको समस्या र नियोजित गठीका कारण पीडित बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न निर्णायक हस्तक्षेप गर्ने र सहकारी संस्थालाई विश्वसनीय बनाउन नियमनकारी बलियो संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्णयक हस्तक्षेप गर्ने र दुवै लोकमार्गमा आधारित रही आर्थिक अवसर सिर्जना गर्न व्यावसायिक कृषि तथा पशुपालन, उच्च मूल्यका कृषि वस्तु र स्थानीय कच्चा पर्दामा आधारित निर्यातमूलक उद्योग स्थापना गरिने बताउनुभयो ।
श्रीसले बलेवा विमानस्थललाई पाइलटहरुको लागि तालिम संचालन केन्द्र बनाउने, बाँदर आतंक र कृषि हानिकारण वन्यजन्तुको विगविगी नियन्त्रण तथा व्यवस्थापन गर्न व्यवहारिक तथा प्रभावकारी उपाय अवलम्वन गर्ने, सामुदायिक वन र बाँझो जमिनलाई आयमूलक वनमा रुपान्तरगर्न गर्न बाँदर प्रतिकूल टिमुर, ओखर, अम्रिसो लगायतका वनस्पतिको विस्तार गर्ने र बाँदर प्रतिकूल खेतीका लागि माहुरीपालन पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र तथा टिमुर पकेट क्षेत्रको विकास गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन अनुकूलनका लागि अन्तरसरकार तथा समुदाय सहकार्यलाई सुदृढ तुल्याउन पहल गर्ने बताउनुभयो । श्रीसले कालीगण्ढडकी लगायत नदीहरुको अवयवस्थित दोहोर नियन्त्रणमा सहकार्य गर्ने र भ्रष्टचारमूक्त सुशासन युक्त समाजका लागि बलियो व्यवस्थापनका निमित्त प्रभावकारी कानुन र दलीयकरणमुक्त संरचना निर्माण गरी सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र जनमैत्री गराउन नीतिगत र व्यवाहारिक सुधार गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
जनमोर्चा र नेकपाका साँझा उम्मेदवार अधिकारीका १९ प्रतिबद्धता
बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावी गठबन्धन गरेको छ । गठबन्धनबाट बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले १९ प्रतिबद्धता सार्वजनिक गरेर चुनावी घरदैलो गरिरहनुभएको छ ।
अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरलाई समयमा पूर्णता दिनुका साथै अधुरा ग्रामिण सडकलाई समयमै सम्पन्न गर्न बजेट सुनिश्चितता र कानुनी अल्झन फकाउन कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै स्थानीयतहसँगको सहकार्यमा वडाको केन्द्र र स्वास्थ्य संस्थासम्म सडक सञ्जाल जोड्ने, धौलागिरी प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्तरोन्नती गर्ने र स्थानीय तहका आधारभूत अस्पतालमा आधारभूत विशेषज्ञ सेवा प्रदान गर्न दरबन्दी सुनिश्चित गर्ने, खानेपानीको लागि एक घर, एक धारा अभियान संचालन गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
अधिकारीले पर्यटनको राजधानी पोखरामा भित्रिने पर्यटकलाई बागलुङ ल्याउन पर्यटनमैत्री गुरुयोजना निर्माण गर्ने, धौलागिरी क्षेत्रलाई सेवा दिनेगरी मेघा कृषि शीत भण्डार तथा प्रशोधन केन्द्र स्थापना गर्ने, बलेवा विमानस्थलमा विमानचालक प्रशिक्षण प्राधिकरण स्थापनाका लागि पहल गर्ने र बलेवा विमानस्थल नियमित उडान गराउन पहल गर्ने, स्थानीयस्तमा उत्पादनलाई उद्यमसँग र उद्यमलाई बजारसँग जोड्ने नीति तय गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ । उहाँले धवलागिरि बहुमुख िक्याम्पसलाई बहुविषय सहितको दक्ष र प्रविधीमैत्री बनाई सुविधायुक्त आवासिय उच्च शिक्षा प्रदान गर्ने केन्द्रको रुपमा विकास गर्ने बताउनुभएको छ ।
यस्तै कालिगण्डकी (बी) जलासययुक्त जलविदुत आयोजना निर्माणमा पहल गर्ने अधिकारीले प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
५ वर्षमा बागलुङका १२ हजारलाई रोजगारी सिर्जना गर्छुः खड्का
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुशिल खड्काले आउँदो ५ वर्षमा बागलुङमा युवा र महिला लक्षित बाह्र हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खड्काले बागलुङ र नेपालको लागि मेरो सपना र योजना नामक पत्र सार्वजनिक गरेर मत मागिरहनुभएको छ ।
डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य गर्ने खड्काले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी सेवालाई छिटोछरितो र पारदर्शी बनाउन सम्पूर्ण सरकारी सेवार्ला डिजिटल बनाउने, आउँदो ५ वर्षमा वातावरणमैत्री क्षेत्रहरुलाई राष्ट्रिय प्राथमिकतामा राखी स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै नेपालभर बाह्र लाख जनालाई रोजगारी सिर्जना गर्ने नीति सार्वजनिक गर्नुभएको छ ।
खड्काले बागलुङका एक वडा एक कृषि प्राविधिक सुनिश्चित गर्दै व्यवसायिक कृषिमा लगानी गर्ने, स्थानीय कृषि उत्पादनको लागि प्रशोधन, चिस्यान, भण्डारको व्यवस्था गर्ने, कृषकको उत्पादनको वैज्ञानिक र उचित समर्थन मूल्य तोकिदिने, कृषि र पशु वीमा अनिवार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बागलुङलाई प्राविधिक शिक्षा आईटीको हब बनाउने र एमविविएस पढाई सहितको टिचिङ्ग हस्पिटल खोल्ने, पूर्वी दर्शनको पढाई हुने विश्वविद्यालय खोली बागलुङलाई संस्कृत, ज्योतिषशास्त्र, आयुर्वेद, ध्यान, योग जस्ता आध्यात्मिक, आरोग्य शिक्षाको राष्ट्रिय हब बनाउने प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।
बागलुङमा खेलकुद एकेडेमी खोल्ने, खेलकुद कोटामा आधारित छात्रवृत्ति दिने, कालिगण्डकी सभ्यताको केन्द्र बागलुङलाई नगई नहुने गन्तव्यको रुपमा प्रबर्धन गर्दै एक वर्ष भित्र ब्राण्ड बागलुङ स्थापना गर्ने खड्काको प्रतिबद्धतापत्रमा उल्लेख छ । उहाँले बागलुङलाई मगर संस्कृतिको राजधानीको रुपमा स्थापित गर्ने बताउनुभएको छ ।
राप्रपाका आचार्यको प्रतिबद्धता बागलुङलाई व्यापारिक केन्द्र बनाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कल्याण विक्रम आचार्यले बागलुङर्लाइ व्यापारिक केन्द्र बनाउने प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । उहाँले कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको सामरिक अवस्थितीको उपयोग गरी बागलुङ क्षेत्र नं. १ लाई व्यापारिक केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दुर्गम क्षेत्रका विद्यालयलाई उत्कृष्ट शिक्षकहरुसँग जोड्ने ‘भर्चुअल क्लासरुम’ निर्माण गर्ने, सिक्दै कमाउँदै प्रयोगशालाहरु स्थापना गर्ने, स्वास्थ्य चौकीहरुमा टेलि–मेडिसिन र मोवाइल हेल्थ क्लिनिक अनिवार्य गर्ने उल्लेख छ । यस्तै सरकारी सेवा एप मार्फत नागरिकता, विवाह दर्ता, मालपोत र कर भुक्तानी घरबाटै गर्ने व्यवस्था मिलाउने, युवाहरुका लागि ‘बागलुङ आईटी हब’ र फ्रिल्यान्सिङ ट्रेनिङ सेन्टर संचालन गर्ने आचार्यको प्रतिबद्धता छ ।
राप्रपा उम्मेदवार आचार्यले बेरोजगार युवाहरुलाई ‘श्रम बैंक’मा सूचीकृत गरी स्थानीय विकासमा परिचालन गर्ने र रोजगारी नपाउन्जेल तालिम दिइने, बागलुङमा साहसिक पर्यटन र ट्रेकिङका नयाँ सम्भावनाहरुको खोजी गर्ने, सार्वजनिक जग्गाको खोजतलास र धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, सरकारी वेतनधारी दलीय भ्रातृ संगठनहरुको पूर्ण खारेजी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।








