बागलुङ, १२ मंसिर । बागलुङमा मंसिर १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेयर कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको आयोजक बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिले बिहिबार पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ट्रफी सार्वजनिक गर्नुभएको थियो ।
बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टिम सहित बागलुङका गलकोट नगरपालिका र जैमिनी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र उदयपुरको कटारी नगरपालिकाले सहभागिता जनाएका छन् । यस्तै पर्वतको जलजला गाउँपालिका र पैयुँ गाउँपालिका, विभागिय टिम गण्डकी प्रदेश प्रहरी पोखरा र कालिजंग गण, घोडाबाँधे सहभागी हुने प्रतियोगिताका संयोजक सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिता नकआउटका आधारमा खेलाइने गौतमको भनाई छ । गौतमले प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको पनि बताउनुभयो ।
प्रतियोगिताको विजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार रुपियाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा २० लाख खर्च हुने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
बागलुङ नगरपालिकाले २०७४ सालमा पहिलो र २०७६ सालमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता संचालन गरेको थियो । तर यसपटक तेस्रो मेयर कप फुटबल प्रतियोगिता हुनुपर्नेमा मेयर कप मात्र राखिको छ । पत्रकार सम्मेलनमा प्रश्न उठेपछि नगरप्रमुख श्रेष्ठले नगरपालिकाले २०७४ साल अगाडिका जनप्रतिनिधिहरुले मेयर कप गरे नगरेको खोजी गर्ने कार्य भइरहेकोले मेयर कप मात्र लेखिएको बताउनुभयो । उहाँले पूर्वजनप्रतिनिधिहरुले आयोजना गरेको प्रतियोगिताको खोजी गरी कति औं हुन्छ सोही अनुसार राखिने बताउनुभयो ।
प्रतियोगितामा सहभागी टिमले दुई जना विदेशी खेलाडी राख्न पाउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले जिल्लाका खेलाडीहरुले खेल प्रस्फुटन गर्न प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो । “जिल्लाका खेलाडीहरुले राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गरेपछि आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्छ,” उहाँले भन्नुभयो,“प्रतियोगिताले जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा लिएका छौं ।”
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज बोसेलले मेयर कप सम्पूर्ण बागलुङबासीको भएकाले सवैले जिम्मेवारीपूर्वक सफल बनाउन बनाउनुपर्नेमा जोड दिनुभयो । ।







