सुजन रेग्मी
बागलुङ , २३ असोज । बागलुङ नगरपालिका वडा नं ४ मा रहेको निर्माणाधीन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ हुने भएको छ ।
महायज्ञ मूल समारोह समितिले बुधवार पत्रकार सम्मेलन गरी आश्रमको अक्षयकोष श्रीवृद्धी गर्ने र मानवता प्रवद्र्धनमा टेवा पुर्याउने अभिष्टले कात्तिक २१ गतेदेखि २८ गते सम्म महायज्ञ हुने जनाएको छ ।
मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले ७ प्रदेशको २१ जिल्लाहरुमा २७ वटा सेवा केन्द्रहरु सञ्चालनमा रही २००० जना सहयोगापेक्षी आमाबुबा, दाजुभाइ, दिदीबहिनी र बाबुनानीहरु मानवसेवा आश्रमको संरक्षणमा रहेको बताउनुभयो ।
बागलुङ सेवा केन्द्रमा विभिन्न उमेर समूहका ६६ जना संरक्षणमा रहेको सुनाउँदै मानवसेवा आश्रमले मानव भई जन्मिएर पनि सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैले केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पारिवारिक पुनःमिलनसँगै मानवता प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्दै २०८२ साल भित्रमा नेपाल राष्ट्रलाई तीनै तहका सरकारहरुको सहभागिता र अभिभावकत्वमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गरी घोषणा गर्ने र घोषणा पश्चातको पूर्ण कार्यन्वयमा समर्पित रहने अधिकारीले प्रतिबद्दता व्यक्त गर्नुभयो ।
मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणाधीन भवन निर्माण सेवा २०८२ चैत्र मसान्तभित्र सम्पन्न गरी २०० जना सहयोगापेक्षीहरुलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । मानवसेवा आश्रम बागलुङ शाखाको अक्षयकोष वृद्धि गरी १० करोडको निर्माण गर्ने अधिकारीले बताउनुभयो ।
महायज्ञभर विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन् । जसमा कार्तिक २१ गते बिहान भजनकीर्तनसहित सांस्कृतिक झाँकी, शंखनाद विशाल सभा, कलस यात्रासहित नगर परिक्रमा गरी साढे १० बजे महायज्ञ उद्घाटन हुने छ भने दोश्रो दिन २२ गतेदेखि २८ गते सम्म बिहान योगशिविर सञ्चालन गरिने छ । तेश्रो दिन बागलुङ, म्याग्दी र पर्वतमा रहेका सामुदायिक तथा संस्थापक विद्यालयमा अध्ययनरत कक्षा १०, ११ र १२ कक्षाका विद्यार्थीलाई मनको व्यवस्थापन सकारात्मक सोच एवं मानवता प्रवद्र्धन, ज्ञानवद्र्धक, उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिने छ भने निशुल्क स्वास्थ्य शिविर ,प्रत्येक दिन बिहान ११ः०० देखि ४ः०० बजेसम्म श्रद्धेय गुरु भागवत भाष्कर कमलनयन गौतमज्यूबाट सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन एवं दाता सम्मानको कार्यक्रम, कथा प्रवचनसँगै ख्याति प्राप्त कलाकारहरूबाट गीत, सङ्गीत, भजनकीर्तन, झाँकी, देवलीला, नृत्यहरू प्रस्तुत हुनेछन् भने पञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्जल, तुलादान, ग्रहशान्ति, ८४ पूजा महामृत्युञ्जय, जप, पाठपरायण आदिका धार्मिक अनुष्ठानका सेवाहरु पनि सँगसँगै अगाडि बढ्नेछन् ।
त्यस्तै गरी प्रत्येक दिन साँझ ६ः०० बजेदेखि ७ः३० सम्म स्थानीय कलाकारहरुद्वारा भजनकीर्तन र ७ः३० देखि ९ बजेसम्म राष्ट्रिय कलाकारहरुबाट भजनकीर्तनको कार्यक्रम , महायज्ञको समयमा समाजमा आफ्नो कर्मको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउनुभएका विभिन्न विधा, क्षेत्रका व्यक्तिहरु, वरिष्ठ कलाकारहरु र विभिन्न धार्मिक एवं आध्यात्मिक क्षेत्रबाट गुरुबाटहरुको उपस्थिति गराइने र महायज्ञ अवधिभर विभिन्न क्षेत्रहरुमा आफ्नो पहिचान बनाउने सफल असल व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
महायज्ञमा अन्य जिल्लामा ३० देखि ५० लाख सम्म खर्च भएको छ । बागलुङमा पनि त्यो भन्दा कम खर्च हुने योजना रहेको अधिकारीले बताउँनुभयो ।
बन्दै गरेको मानव सेवा आश्रम हालसम्म रु पाँच करोड खर्च भइसकेको र अझै ३ देखि ४ करोड आवश्यक रहेको अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन महायज्ञ मूल समारोह समितिका संयोजक सहदेव राजभण्डारीको अध्यक्षता बागलुङ नगरपालिका नगर उपप्रमुख एवं मूल समारोह समितिका सहसंयोजक राजु खड्काको स्वागत र युक्त सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।










